Thursday, June 11, 2026

Font Size:

logo
11 Months ago July 01, 2025 Visted:108

माटोरहित प्रविधिमार्फत आलुको बिउ उत्पादन सुरु


img

असार १७ गते । आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले माटोरहित ‘एरोपोनिक्स’ प्रविधिमार्फत आलुको बिउ उत्पादन गर्ने कार्य थालेको छ । केन्द्रको रजत जयन्तीका अवसरमा उक्त प्रविधिबाट बिउ उत्पादन गर्न थालिएको हो ।

विसं २०३२ मा न्युक्लियस बिउ आलु उत्पादनका लागि स्थापना भएको आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले स्थापनाकालदेख नै गुणस्तरयुक्त बिउ आलु तथा आलुको बियाँ उत्पादन गरी देशभरका कृषक समुदायमा बिउ एवं प्रविधि हस्तान्तरण गर्दै आएको छ । उक्त प्रक्रियामार्फत आलु उत्पादन तथा उत्पादकत्व बढाई पोषण तथा खाद्य सुरक्षाको सुनिश्चितता र गरिबी निवारणमा सो केन्द्रले टेवा पुर्‍याउँदै आएको छ । 

स्थानीय जात र विभिन्न देशका आलुको जातबाट ‘टिस्युकल्चर’ प्रविधिमार्फत नयाँ पुस्ताको बिउ उत्पादन गर्दै आएको आलु बाली विकास केन्द्रले आलु बालीको पिबिएस र टिपिएस तथा विभिन्न पुस्ताका बिउ उत्पादन गरी बिक्रीवितरण गर्दै आएको केन्द्रका प्रमुख अरुण खनालले जानकारी दिनुभयो । आलु बालीको जातीय संरक्षण र संवर्धन गर्ने, आलु बालीका समस्या परीक्षण गर्ने, बिउ आलु उत्पादक कृषकलाई प्राविधिक सेवा, बिउ आलुको गुणस्तर नियन्त्रण तथा सुपरिवेक्षण जस्ता विभिन्न सेवा दिँदै आएको उहाँले बताउनुभयो । 

लिसङ्खुपाखर गाउँपालिका–५, मुडेस्थित निगाले बजारमा अवस्थित केन्द्रले समुद्री सतहभन्दा दुई हजार ५५० मिटर उचाइमा १०८ रोपनी १३ आना आफ्नै जग्गा र १७.५ रोपनी भाडाको जग्गामा कार्य गर्दै आएको छ । केन्द्रले रोजिटा, कार्डिनल, जनकदेवलगायत विभिन्न जातका आलु बालीसम्बन्धी काम गर्दै आएको छ । 

रोजिटा आलु मुडेको ‘ब्रान्ड’ भनेर नेपालभर चिनिएको छ । सो केन्द्रले स्थानीयस्तरका प्राविधिक, अगुवा कृषक, आलुमा क्षमता वृद्धि गर्दै आएको छ । उक्त केन्द्रको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती), फार्म डे तथा प्रविधि प्रदर्शन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव डा. जानुका पण्डितले स्थानीय र रैथाने जातका आलुको संरक्षण र संवर्धन गर्न मन्त्रालय लाग्ने र मातहतका कार्यालय पनि लाग्नुपर्ने धारणा राख्नुभयो । 

मुडेमा उत्पादित रोजिटालगायतका स्थानीय र रैथाने आलुलाई ‘गे्रडिङ’ र ‘ब्रान्डिङ’ गरी बाहिरी मुलुकबाट आयात हुने आलुलाई विस्थापित गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि मन्त्रालय नीतिगत र पूर्वाधारमा सहयोग दिन सदैव तयार रहेको मन्त्रालयकी प्रवक्तासमेत रहेकी पण्डितले बताउनुभयो । मुडे आसपासका क्षेत्रबाट वार्षिक ७१ करोड रुपियाँ बराबरको आलु निर्यात हुने गर्छ ।

लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले मुडे र अन्य पालिकाका विभिन्न स्थानमा कृषकले उत्पादन गरेका आलुलगायतका कृषि उपजको चिस्यान केन्द्र स्थापना गरेको र केन्द्र छिटै सञ्चालनमा आउने जानकारी दिनुभयो । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै कृषि, पशुपालनमा गाउँपालिकाले कृषकलाई अनुदानलगायतको सहयोग गर्दै आएको लामाको भनाइ छ ।

कार्यक्रममा ५० भन्दा बढी जातका आलुका परिकार प्रदर्शनी गरिएको छ । आलु उत्पादन गरेर आत्मनिर्भर हुने कृषक, केन्द्रका पूर्वकर्मचारीलगायतलाई सम्मान गरिएको छ ।    

Share:

प्रतिक्रिया