Tuesday, October 27, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
2 Day ahead October 25, 2026 Visted:4

दरबाङमा पश्चिम म्याग्दी कप फुटबल


img

म्याग्दी, कात्तिक ७ गते । पश्चिम म्याग्दीको दरबाङमा ‘आठौँ पश्चिम म्याग्दी कप–२०८३’ सेभेन ए साइड फुटबल प्रतियोगिता मालिका गाउँपालिका –६, दरबाङमा सुरु भएको छ । 

पश्चिम म्याग्दी दरबाङ युथ क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा २५ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

द्वितीय हुने टिमले ७७ हजार ७७७ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव बिमल शर्माले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल पुग्ने सबै टिमले पुरस्कार पाउनेछन् । 

सेमिफाइनल पुगेका चार मध्ये सेमिफाइनलबाट बाहिरिने दुई टिमलाई ११ हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको क्वार्टर फाइनलदेखि प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत एक हजार रुपियाँ प्रदान गरिने प्रतियोगिताका खेल संयोजक टण्डीन लामाको भनाइ छ ।

प्रतियोगिता सुरु भएको पहिलो दिन तीन खेल भएको र बाँकी खेलहरु आइतबारदेखि हुने सचिव शर्माको भनाइ छ । प्रतियोगिताको फाइनल खेल ११ गते हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, हाइस्कोरर र उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ११ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागी टिमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रचलित नियमअनुसार खेल्नेछन् । प्रत्येक टिमले अधिकतम १० जना खेलाडी र दुई जना कोच तथा अफिसियल दर्ता गर्न पाउने व्यवस्था छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ ।

आयोजकका अनुसार प्रतियोगिताले पश्चिम म्याग्दी क्षेत्रमा फुटबल खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान र खेलकुदमार्फत आपसी सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Share:

प्रतिक्रिया