Tuesday, October 27, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
2 Day ahead October 25, 2026 Visted:4

एनपिएलमा भित्रिँदै स्टार क्रिकेटर


img

काठमाडौँ, कात्तिक ८ गते  । तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाई क्रिकेट लिगमध्ये एक बनिसकेको छ । एनपिएलका पछिल्ला दुई संस्करण सफल हुनुको कारणमध्ये एक विदेशी खेलाडीको प्रभाव पनि हो । दुवै संस्करणमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक बनेका थिए ।

यस पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (क्यान) को मान्यता पाएपछि एनपिएलमा प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियम छ । यद्यपि यसपालि हरेक टिमसमक्ष अझ धेरै विदेशी खेलाडीको विकल्प उपलब्ध भएको छ ।

पछिल्ला दुई संस्करणमा उपाधिको होडमा विदेशी क्रिकेटर निर्णायक बनेपछि यसपालि एनपिएलमा विगतमा भन्दा नाम चलेका एक से एक विदेशी खेलाडी देख्न पाइने भएको छ । पछिल्ला दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले शनिबार वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफन रदरफोर्डलाई टिममा भित्र्याएको जानकारी  दियो । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित हुनुहुन्छ । उहाँको विशेषता भनेको मध्यक्रममा तेज गतिमा ब्याटिङ गर्ने हो । रदरफोर्डले सबैखाले टी–२० क्रिकेटमा २८३ खेलमा पाँच हजार ९० रन बनाउनुभएको छ । टी–२० मा ३२४ छक्का प्रहार गरिसकेका रदरफोर्डको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ । सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई सिपिएल र सन् २०२०–२१ मा कराँची किङ्ग्सलाई पिएसएल उपाधि दिलाएका रदरफोर्डले अब सुदूरपश्चिमलाई च्याम्पियन बनाउने प्रयास गर्नुहुने छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले पनि यस सिजन टोलीको उपाधि जित्ने लक्ष्यमा उहाँको आक्रामक खेल र अनुभव महìवपूर्ण हुने अपेक्षा गरेको बताउनुभएको छ । रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्न पाउँदा उत्साहित रहेको बताउँदै नेपाली समर्थकका अगाडि आफ्नो क्षमता देखाउने अवसरको प्रतीक्षामा छु, भन्नुभयो । वेस्ट इन्डिजका अर्का अलराउन्डर आन्द्रे रसेलका कारण पनि यसपालिको एनपिएल विशेष हुने छ । विराटनगर किङ्ग्सले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको छ ।  विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विस्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किङ्ग्स उपाधि दाबेदारको होडमा सामेल भएको छ ।

अनुभवी क्रिकेटर रसेललाई टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ । दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उहाँले आफ्नो आक्रामक खेल शैलीमार्फत विश्व क्रिकेटमा छुट्टै पहिचान बनाउनुभएको छ । सन् २०१२ मा श्रीलङ्कामा भएको आइसिसी पुरुष टी–२० विश्वकप र सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्दा रसेल वेस्ट इन्डिज टोलीका महìवपूर्ण सदस्य हुनुहुन्थ्यो ।

रसेलले नेपाली क्रिकेट समर्थकको जोस र माया अनुभव गर्न आतुर भएको बताउँदै मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई मनोरञ्जन दिनु र विराटनगर किङ्ग्सलाई उपाधि जिताउन योगदान गर्नु आफ्नो प्रमुख लक्ष्य हुने बताउनुभएको छ ।

एक दिनअघि कर्णाली याक्सले दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलरलाई अनुबन्ध गरेपछि आगामी एनपिएलको रौनक अझ बढेको छ । मिलर एनपिएलको इतिहासमा सहभागीमध्ये सबैभन्दा ठुलो स्टार र सफल खेलाडीमध्ये एक हुनुहुन्छ । 

मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी हुनुहुन्छ । यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेटका कप्तान साहिबजादा फरहानसँगै अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । कर्णालीका लागि दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट, अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरेको छ । 

कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार ठुला खेलाडीको अनुबन्धले कर्णाली याक्सलाई मात्रै नभएर एनपिएलदेखि नेपालको पर्यटन प्रवर्धनमा समेत ठुलो योगदान पुग्ने छ । “पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौँ । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यस पटक डेबिड मिलर, पाकिस्तानका टी–२० टिमका कप्तान साहिबजादा फर्हान र हुसैन तलातलाई अनुबन्ध गरेका छौँ,” उहाँले भन्नुभयो ।

पोखरा एभेन्जर्सले एक दिनअघि बङ्गलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको थियो । सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बङ्गलादेशी तथा पाँचौँ विदेशी खेलाडी हुनुहुन्छ । यसअघि पोखराले बङ्गलादेशका साकिब अल हसन र महेदी हसन तथा श्रीलङ्काका धनञ्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ ।

यसबिच च्याम्पियन लुम्बिनी लायन्सले हालै बङ्गलादेशका ब्याटिङ अलराउन्डर समिम हुसेनलाई टिममा भित्र्याएको छ । बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने क्षमता भएका हुसेनले लायन्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यसबिच काठमाडौँ गोर्खाजले पनि अस्ट्रेलियाका पूर्वकप्तान डेबिड वार्नरलाई अनुबन्ध गरेर आफ्ना समर्थकलाई खुसी पारेको छ ।

Share:

प्रतिक्रिया