Tuesday, October 27, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
2 Day ahead October 25, 2026 Visted:11

घट्दै चङ्गा ‘चेट्’ संस्कृति


img

काठमाडौँ, कात्तिक ८ गते  । दसैँ आउनासाथ कुनै बेला काठमाडौँको आकाश रङ्गीचङ्गी चङ्गाले ढाकिन्थ्यो । घरका छत र खुला चौरमा चङ्गा उडाउने बालबालिकादेखि युवासम्मको चहलपहल हुन्थ्यो । चङ्गाको लट्टाई समाउँदै आकाशतिर हेर्ने, अर्काको चङ्गा काट्न खोज्ने र चङ्गाको धागो काटिएपछि ‘चेट्’ भन्दै रमाउने दृश्य दसैँको छुट्टै पहिचान थियो ।

अहिले भने समय फेरिएको छ । मोबाइल फोन, भिडियो खेल र सामाजिक सञ्जालमा रमाउने नयाँ पुस्ताका कारण चङ्गा उडाउने पुरानो चलन कमजोर हुँदै गएको छ । अहिले काठमाडौँ उपत्यकाका असनचोक, ढोकाबहाल, इन्द्रचोक, मरुलगायत बजारका चङ्गा पसलमा चङ्गा, लट्टाई तथा धागो किन्नेको भिड र आकाशमा चङ्गाको प्रतिस्पर्धा घट्दै गएको छ ।

व्यवसायमा आएको कमीसँगै केही व्यवसायीले दसकौँदेखिको व्यवसाय नै परिवर्तन गरेका छन् भने केही व्यवसायी मौसममा आएको परिवर्तन र चङ्गा उडाउने संस्कृतिमा आएको कमीले व्यवसाय नै प्रभावित पारेको भन्दै चिन्तित छन् । चार दशकदेखि असनचोकमा चङ्गा व्यवसाय गर्दै आएका व्यवसायी राकेश श्रेष्ठले केही वर्षअघिसम्म दसैँतिहारको समयमा दैनिक हजारौँको सङ्ख्यामा चङ्गा बिव्रmी हुने गरेकोमा पछिल्लो समय बिव्रmी निकै घटेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “म नजन्मिँदै सुरु भएको हाम्रो चङ्गा व्यवसाय अहिले सबैभन्दा खराब अवस्थामा पुगेको छ । केही वर्षअघि दैनिक करिब पाँच हजारभन्दा बढी चङ्गा र पाँच सय हाराहारी लट्टाई बिक्री हुने गरेकोमा अहिले एक दिनमा एक हजार चङ्गा र दुई सय लट्टाई बेच्नसमेत कठिन भएको छ ।”

बदलिँदो जीवनशैली, प्रविधिको विकास र चङ्गा उडाउने खाली ठाउँको अभावका कारण चङ्गा व्यवसाय र संस्कृति लोप हुँदै गएको र व्यवसायीसमेत पेसाबाट पलायन हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “घरैघरले भरिएको सहरमा सुरक्षित रूपमा चङ्गा उडाउन मिल्ने ठाउँ सीमित भएका छन् । पहिलेका खुला चौर र खेतबारी मासिँदै गएपछि यसले चङ्गा उडाउने रहरलाई पनि खुम्च्याउँदै लगेको  छ ।” 

त्यसै गरी तीन दशकदेखि ढोकाबहालमा चङ्गा व्यापार गर्दै आएकी बसुन्धरा मानन्धरले पहिले दसैँको बिदा सुरु हुनासाथ पसलमा बालबालिका र युवाको भिडभाड बढ्ने गरे पनि अहिले बढ्दो मोबाइल संस्कृतिका कारण लगानी नै जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “चङ्गाको व्यापार अरू व्यापार जस्तो वर्षभरि समान रूपमा चल्दैन । दसैँतिहार यसको मुख्य व्यापारिक समय हो तर यही मौसममा ग्राहक घटेपछि लगानी जोखिममा पर्न थालेको छ । अपेक्षित कारोबार नहुँदा बाँकी सामान अर्को वर्षसम्म राख्नुपर्ने वा कम मूल्यमा बेच्नुपर्ने अवस्था छ ।”

काठमाडौँमा दसैँतिहारको समयमा चङ्गा उडाउने संस्कृति पुरानो भए पनि नयाँ पुस्तामा यो अभ्यास हस्तान्तरण हुन नसक्दा परम्परा कमजोर बन्दै गएको उहाँले बताउनुभयो । अहिले बजारमा चङ्गा किन्न पाइए पनि त्यसलाई उडाउने रहर गर्नेको सङ्ख्या घट्नुले व्यवसायसँगै संस्कृतिमाथि पनि चुनौती थपेको उहाँको भनाइ छ ।

पहिले नेपाली कागजबाट बन्ने चङ्गा सस्तो हुने गरे पनि अहिले चङ्गा तयार पार्ने कच्चा पदार्थको मूल्य बढ्दै गएको र भारतबाट आयात हुने चङ्गाका कारण पनि पहिलेको तुलनामा चङ्गा निकै महँगो हुँदै गएको उहाँले सुनाउनुभयो ।

अहिले सस्तोमा सय रुपियाँदेखि महँगोमा चार हजार रुपियाँसम्म पर्ने चङ्गा बेच्दै आएको बताउँदै उहाँले दैनिक पाँच हजार रुपियाँ हाराहारीको मात्रै कारोबार हुने गरेको बताउनुभयो । बिक्री भएका अघिकांश चङ्गा मल, पसल, विद्यालय र घर सजाउन प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

अर्का व्यवसायी रुद्र खड्काले चङ्गा व्यापार घट्नु केवल व्यवसायमा आएको मन्दी मात्रै नभई दसैँसँग जोडिएको मौलिक संस्कृति हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

Share:

प्रतिक्रिया