Thursday, October 29, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
6 Day ahead October 22, 2026 Visted:11

धान काट्ने चटारोले बढायो गोविन्दको आरनमा आम्दानी


img

दाङ, कात्तिक ५ गते । घोराही उपमहानगरपालिका १७ स्थित गुलरिया पार्कको उत्तरतर्फ कुलाको डिलमा एउटा पाल टाँगिएको छ । पालमुनि बसेर ६१ वर्षीय गोविन्द विक हँसिया, खुकुरी र अन्य कृषि औजार पिटिरहेका भेटिनुहुन्छ। उहाँको वरिपरि किसानको भिड हुन्छ । कोही हँसिया छिटो बनाइदिन आग्रह गरिरहेका हुन्छन् भने कोही पालो पर्खेर बसिरहेका हुन्छन्।

धान काट्ने समय सुरु भएसँगै गोविन्दको आरनमा कामको चाप बढेको हो । किसानलाई धान काट्न हँसिया चाहिएको छ । पुराना हँसियामा धार लगाउने र नयाँ हँसिया बनाउने कामले उहाँलाई बिहानदेखि साँझसम्म भ्याइनभ्याइ छ । फलाम तताउने र हँसियामा धार लगाउँदैमा उहाँको दिन वित्छ । घोराही उपमहानगरपालिका –५ रामघाट निवासी गोविन्दले फलाम पिट्ने काम गर्न थालेको पाँच दशक बितिसकेको छ । 

बाल्यकालदेखि देख्दै र सिक्दै आएको यही पेसाले उहाँको जीवन धानिरहेको छ । पुर्खाले गर्दैआएको कामलाई उहाँले निरन्तरता दिँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला बुवा र बाजेले यही काम गर्नुहुन्थ्यो । अहिले मैले गर्दै आएको छु । धान काट्ने बेला हँसिया बनाउने र पिट्ने काम धेरै हुन्छ । अरू बेलाभन्दा अहिले काम बढी आउँछ, आम्दानी पनि राम्रो हुन्छ ।”

धान काट्ने मौसममा गोविन्दको आरनमा हँसिया बनाउन र धार लगाउन आउने किसानको चाप बढ्ने गरेको छ । यसबाहेक दैनिक प्रयोग हुने फरुवा, खुकुरी, बन्चरो र अन्य कृषि औजार बनाउन तथा मर्मत गर्न पनि ग्राहक आउने गर्छन् । कामको चाप बढेसँगै उहाँको आम्दानी बढ्ने गरेको छ । गोविन्दका अनुसार एउटा हँसिया, फरुवा, खुकुरी वा बन्चरो पिटेर बनाएको ज्याला औजारको ५० देखि २५० रुपियाँसम्म पर्छ । 

नयाँ हँसिया वा खुकुरी बनाउन भने ५०० रुपियाँदेखि माथि लाग्छ । औजारको आकार, कामको प्रकृति र लाग्ने मेहनतअनुसार मूल्य फरक पर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिजनमा दैनिक छ हजार रुपियाँसम्म कमाइ हुन्छ । अरू समयमा महिनामा ५० देखि ६० हजार रुपियाँसम्म आम्दानी हुन्छ । धान काट्ने बेला हँसिया बनाउने र पिट्ने काम धेरै हुन्छ । त्यसैले यो समयमा कमाइ राम्रो हुन्छ ।”

फलामलाई आगोमा तताएर हतौडाले पिट्दै आकार दिनु, धार लगाउनु र किसानले चाहेजस्तो औजार तयार गर्नु गोविन्दको दैनिक काम हो । वर्षौँको अनुभवले उहाँलाई फलामको ताप, बनावट र औजारको धारबारे राम्रो ज्ञान दिएको छ । यही सिपका कारण किसानहरू आफ्नो औजार बनाउन र मर्मत गर्न उहाँकहाँ पुग्नेगरेका छन् । 

पाँच दशकदेखि फलाम पिट्दै आउनुभएका गोविन्दका लागि आरन आम्दानीको स्रोत मात्र होइन, पुर्खाबाट हस्तान्तरण भएको सिप र पेसासमेत हो । किसानहरू खेतमा धान काट्ने तयारीमा जुटिरहेका बेला उहाँको पालमुनिको आरनमा पनि हतौडाको आवाजसँगै कामको चटारो बढेको देखाउँछ ।

Share:

प्रतिक्रिया