Tuesday, October 27, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
6 Day ahead October 21, 2026 Visted:14

दसैंभन्दा चिसोबाट जोगिने चिन्तामा बाढीपीडित


img

काठमाडौँ, कात्तिक ३ गते । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवार काठमाडौँ उपत्यका अन्तर्गतका विभिन्न होल्डिङ सेन्टरहरुमा बस्दैआएका छन् । भदौ १० गते आएको बाढी पश्चात् उनीहरुले होल्डिङ सेन्टरमा दिन कटाएको झण्डै दुई महिना बित्न लागेको छ ।

देशभर दसैँको चहलपहल चलिरहँदा होल्डिङ सेन्टरमा रहेका पीडितहरु भने जाडोयाम कसरी बिताउने भन्ने पीरमा छन् । काठमाडौँको स्वयम्भु क्षेत्रमा रहेको मुस्ताङ गुम्बामा रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ को एकसय ५४ घरधुरीका चार सयभन्दा बढी पीडित बस्दै आएका छन् । 

मुस्ताङ गुम्बाका सम्पर्क व्यक्ति पेमा दोर्जे भन्नुहुन्छ, “यसवर्ष चाडपर्व त मनाउँदैनन् । सबैको आफन्त कोही बेपत्ता भएका छन्, कोही बितेका छन् । उनीहरुको नाममा धूपबत्ती बाल्ने काम जारी छ ।” उहाँले जाडोयाम सुरु भएसँगै होल्डिङ सेन्टरमा बस्दै आएका बालबालिका, वृद्धवृद्धालाई थप असहज हुने बताउनुभयो ।

स्वयम्भु भगवानपाउ क्षेत्रमा रहेको नुब्री समाजले भोटेकोशी बाढीका तीनसय जनालाई व्यवस्थापन गर्दैआएको थियो । नुब्री समाजका अध्यक्ष छेवाङ लामाले भगवानपाउ परिसरमा रहेको होल्डिङ सेन्टरबाट केही दिनअघि मात्रै सबै जना आ–आफ्नो स्थानमा फर्किएको बताउनुभयो । 

लामाका अनुसार दसैँ लागेसँगै गएको असोज २० गते सो होल्डिङ सेन्टरमा बस्दै आएका पीडितहरु कोही आफ्नो बासस्थानमा त कोही आफ्ना आफन्तकोमा गएको उहाँको भनाइ छ । 

लामा भन्नुहुन्छ, “पहिला बाटो थिएन । कतिपय भने गाउँ जाने बाटो खुलेपछि गाउँ गएका हुन् । यहाँ खाना खुवाइरहेको संस्थासँगको सम्झौताको म्याद पनि सकियो ।”

यस्तै, सुन्दरीजल बीपी चोकमा अवस्थित होल्डिङ सेन्टरमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ हाकुबेसीका ६८ घरधुरीका सयौँको सङ्ख्यामा बाढी पीडित बस्दैआएका छन् ।


सो होल्डिङ सेन्टरका सम्पर्क व्यक्ति रमेश तामाङ भन्नुहुन्छ, “खानेकुरा त विभिन्न सङ्घ, संस्थाले दिँदै आएको छ । जाडोयाम सुरुभयो यहाँ बस्नेहरु बिरामी हुन्छन् कि भन्ने चिन्ता छ । बिरामी भइसकेपछि झन् गाह्रो होला कि भन्ने चिन्ता छ । कमाउने ठाउँ छैन । पैसा नभएपछि उपचारको लागि झन् समस्या हुन्छ ।”

उहाँले चाडपर्वमा होल्डिङ सेन्टरमा रहेका बालबालिकाकालाई नयाँ लुगा किन्ने लगायत अरु आवश्यकता पुरा गर्न नपाउदा अभिभावकहरु दुःखी बनेको बताउनुभयो ।       

उहाँले भन्नुभयो, “दसैँ त खासगरी बच्चाहरुलाई लाग्ने हो । पैसा नभएपछि बच्चाहरुलाई कपडा किन्ने अवस्था छैन । नेपाल सरकारले चाँडोभन्दा चाँडो बस्ने ठाउँको  व्यवस्था गरिदियो भने हामी पनि कमाउने ठाउँतिर लाग्नेथियौं ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले भोटेकोशी बाढी पश्चात् गएको भदौ ११ गतेदेखि निरन्तर पीडितको व्यवस्थापन र राहत वितरणमा सहजीकरणको कार्य जारी रहेको बताउनुभयो । 

बाढी लगत्तै जिल्ला–जिल्लामा राहत वितरणका लागि प्रशासनले स्वीकृति दिएको थियो । अहिले पनि पीडितका लागि फारामको व्यवस्थापन गरिएको उहाँको भनाइ छ । 

बर्देवा भन्नुहुन्छ, “सुरुका दिनहरुमा विभिन्न सङ्घ, संस्थाहरुले जिल्लामा राहत लाने भन्नुभयो र त्यसका लागि हामीले अनुमति दिएर पठायौँ । धेरै पीडितहरु अहिले काठमाडौँ नै आउनुभएको छ । त्यसैले, व्यत्तिःगतरुपमा पीडितहरु यहाँ आएर यति क्षति भयो, अब राहत आवश्यक पर्‍यो भनेर आउनुभयो भने उहाँहरुलाई लागि फराम डेभलप गरेका छौं ।” उहाँले हालसम्म २५ सय परिवारको घरदैलोमा नै राहत वितरण गरिएको जानकारी दिनुभयो ।  


 

Share:

प्रतिक्रिया