Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Weeks ago October 12, 2026 Visted:68

दृष्टिपारिको उज्यालो


img

 दृष्टिबिनाको जीवनको के अर्थ छ र ? 

लक्ष्यबिनाको यात्राको के सार छ र ?

जसरी रातले अँध्यारो चिर्दै बिहानीको आह्वान 

गर्छ, 

त्यसरी नै जीवनले पनि उज्यालो खोजिरहन्छ। 

तर किन हाम्रो यात्रामा 

हरेक मोडमा अवरोधका पर्खाल उभिन्छन् ? 

किन आफ्नै क्षमताले आकाश छुन खोज्दा 

सहयोगका हातहरू पछि हट्छन् ?

यो कस्तो नियतिको खेल हो ? 

आँखाको ज्योति गुम्दा 

के जीवनका सबै सम्भावना पनि गुम्नुपर्छ ?

 किन देख्न सकिँदैन प्रकृतिका रूप र रङहरू ? 

किन नियाल्न सकिँदैन जन्मदाताको मुहार ? 

किन उड्न सकिँदैन खुला गगनमा 

स्वतन्त्र पन्छीजस्तै ?

 किन आफ्नै बाटो पहिल्याउनसमेत 

अरूकै सहारामा निर्भर हुनुपर्छ ?

 किन, दैव,

 किन यस्तो अन्याय? 

किन हाम्रो भागमा समानताको सट्टा 

असहायता र परनिर्भरताको भार? 

दृष्टिविहीन हुनु हाम्रो कमजोरी होइन, 

तर  समाजको साँघुरो सोचले 

हाम्रा सम्भावनाहरूलाई कैद गरिदिएको छ। 

हामीलाई चाहिएको दया होइन, 

अवसर र सम्मान हो। 

हामीलाई चाहिएको सहानुभूति होइन, 

आफ्नो क्षमता प्रमाणित गर्ने वातावरण हो।

तर  किन हाम्रो अस्तित्वलाई  

सधैँ अरूको सहारासँग जोडिन्छ? 

किन हाम्रो सामर्थ्यभन्दा हाम्रो अभावलाई ठूलो बनाइन्छ?

 किन हामीभित्रको उज्यालो 

नदेखी आँखाको अँध्यारो मात्रै खोजिन्छ? 

कसैले ठगे, कसैले ढाँटे, 

कसैले विश्वासको आडमा विश्वास तोडे। 

कति पटक आफ्नै ठानिएकाहरूबाट छलियौँ, 

कति पटक परायाको व्यवहारले घाइते भयौँ। 

हाम्रो मौनतालाई कमजोरी ठानियो, 

हाम्रो विवशतालाई अवसर बनाइयो, 

हाम्रो विश्वासलाई बारम्बार कुल्चिइयो। 

कसले बुझिदिने हाम्रो मौन वेदना? 

कसले सुनिदिने आवाजविहीन पीडा? 

कसले खोलिदिने ती बन्द ढोकाहरू, 

जसपारि समानता, स्वतन्त्रता र न्याय छन्? 

सबैका छातीमा मुटु धड्किन्छ, 

तर 

सबैको हृदयमा करुणा कहाँ हुन्छ र? 

कतै लोभले मानवीयता ढाकेको छ, 

कतै वैभवको मोहले विवेक छोपेको छ, 

कतै ईर्ष्याले सम्बन्धहरू चिरिएको छ। 

अग्ला महल र धनका थुप्राबीच 

मानवीय संवेदना हराउँदै गएको छ। 

तर हामी खोजिरहेछौँ 

त्यही एउटा हृदय, 

जसले हाम्रो अवस्थालाई होइन, 

हाम्रो अस्तित्वलाई बुझोस्; 

जसले हाम्रो आँखाको ज्योतिभन्दा पर 

हाम्रो अन्तरदृष्टिको गहिराइ देखोस्; 

जसले हाम्रो असमर्थता गन्नुभन्दा 

पहिले हाम्रो सम्भावनालाई चिन्न सकोस्। 

कहिलेसम्म अरूको निर्णयमा बाँच्ने? 

कहिलेसम्म अवसरको प्रतीक्षामा रहने? 

कहिलेसम्म समानताको ढोका ढकढक्याउने? 

तिमी नै मौन भइदिएपछि, को बनिदिने हाम्रो आवाज? 

हामीले नै आफ्ना प्रश्न उठाउनुपर्छ, 

हामीले नै अधिकारको बाटो पहिल्याउनुपर्छ। 

किनकि हाम्रो जीवनको मूल्य अरूको दयाले होइन, 

हाम्रो मानव अस्तित्वले निर्धारण गर्छ। 

तर 

हाम्रो यात्रा निराशामै कहाँ टुङ्गिन्छ र? 

अझै त्यो गगन छुन मन छ,

 जहाँ कल्पनाका पखेटाले स्वतन्त्रताको गीत गाउँछन्। 

अझै आशाका कुसुम फुलाउन मन छ, 

आफ्नै श्रम र सीपले संसार सजाउन मन छ। 

बाटो कठिन छ, 

सहारा सीमित छ, 

तर मनभित्रको सङ्कल्प अझै जीवित छ। 

हजारपटक लडे पनि उठ्नु छ, 

हजार चोट सहेर पनि अघि बढ्नु छ। 

आँसुका प्रत्येक थोपामा आत्मसम्मानको कथा लेख्नु छ,

 हरेक सङ्घर्षलाई परिवर्तनको आधार बनाउनु छ। 

हामीलाई कसैले बाटो देखाइदेला भनेर सधैँ प्रतीक्षा गरिरहनु छैन; 

आफ्नै साहसले बाटो पहिल्याउनु छ। 

बन्द ढोकाहरू खोल्नुपर्छ, 

असमानताका पर्खालहरू भत्काउनुपर्छ, 

र 

आफ्ना सपनालाई यथार्थमा बदल्नुपर्छ। 

किनकि 

दृष्टिविहीन हुनु सपनाविहीन हुनु होइन, 

अँध्यारोमा हुनु आशाविहीन हुनु होइन। 

आँखाले संसार नदेखे पनि 

मनले सम्भावनाहरू देख्न सक्छ, 

अवरोधले बाटो छेके पनि 

सङ्कल्पले नयाँ दिशा रोज्न सक्छ। 

हामीभित्र अझै एउटा संसार बाँकी छ, 

एउटा सपना बाँकी छ, 

एउटा आवाज बाँकी छ, 

अनि पूरा गर्नुपर्ने यात्रा बाँकी छ। 

हाम्रो मौनताले आवाज पाउनेछ, 

हाम्रो सङ्घर्षले अर्थ पाउनेछ,

 हाम्रो यात्राले दिशा पाउनेछ।

 एक दिन हाम्रो अस्तित्वले दयामा होइन, 

समानतामा स्थान पाउनेछ; 

हाम्रा क्षमताले अवसर पाउनेछन्, 

हाम्रा सपनाले आकाश पाउनेछन्। 

त्यस दिन बुझिनेछ— 

उज्यालो आँखामा मात्रै हुँदैन, 

दृष्टि चेतनामा पनि हुन्छ। 

स्वतन्त्रता देख्ने क्षमतामा मात्रै होइन, 

आफ्नो बाटो रोज्ने अधिकारमा हुन्छ। 

र संसारलाई बुझ्न 

आँखाको दृष्टि मात्रै पर्याप्त हुँदैन, 

मानवीय हृदयको संवेदना पनि चाहिन्छ। 

हामी आफ्नै पखेटामा उड्नेछौँ, 

आफ्नै साहसले संसार चिन्नेछौँ, 

आफ्नै अन्तरदृष्टिले नयाँ भविष्य कोर्नेछौँ। 

हामीलाई रोक्ने अँध्यारोभन्दा 

हामीभित्रको उज्यालो विशाल हुनेछ। 

त्यही उज्यालो, 

जसले दृष्टिको सीमापारि 

स्वतन्त्रता, समानता र आत्मसम्मानको

 नयाँ संसार देखाउनेछ। 

त्यही हुनेछ— दृष्टिपारिको उज्यालो।                                                                                       प्रस्तुती   सीता शाह 

 

Share:

प्रतिक्रिया