Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
सौर्यमण्डलमा सम्पूर्ण तत्वको सूक्ष्मतम सन्तुलन छ । केवल ब्रह्माण्डीय घटनाहरूको अन्धसंयोग मात्रले सृष्टि सम्भव हुँदैन ।
धार्मिक तथा दार्शनिक दृष्टिकोणवादीहरू सृष्टि कुनै एक महाशक्तिसम्पन्न सर्वव्यापी चेतन स्रष्टाको एउटा निश्चित महायोजना एवं उद्देश्यबिना सम्भव नभएको मान्छन् तर सर्वव्यापी, सर्वशक्तिमान स्रष्टाको सृष्टिकर्ता को होला भन्ने प्रश्न अद्यापि रहिरहेको छ ।
पृथ्वीमा मात्र जीवनको प्रादुर्भाव हुनुको पछाडि के उद्देश्य हुन सक्छ ? ब्रह्माण्डको सृष्टिको विषयमा प्रश्न गर्न सक्षम वृद्धिमान प्रजातिको विकास हुनुको रहस्य के हुन सक्छ ? हाम्रो सौर्यमण्डल कुनै सृष्टिकर्ताको बुद्धिमत्तापूर्ण महायोजना अनुरूप संरचित हो वा प्रकृतिको भौतिक नियम अन्तर्गत स्वस्फूर्त रूपमा संरचित संयोगपूर्ण महाघटना मात्र हो ? यस्ता अनुत्तरित प्रश्न र उत्तरको खोजीमा मानव सभ्यता अनादिकालदेखि अहोरात्र खटिएको छ ।
नील–हरित वनस्पति तथा विविध रूप र आकृतिका प्राणीले गर्दा पृथ्वी सौर्यमण्डलको एक ज्यादै विशिष्ट र अद्भुत ग्रहका रूपमा रहेको छ । पृथ्वी हाम्रो आकाश गङ्गा क्षीरमार्गमा (मिल्की वे ग्यालक्सी) अवस्थित एउटा सानो ग्रह हो तर यो जीवनको प्रादुर्भाव, संवर्धन तथा क्रम विकासका लागि अनुपम र असाधारण छ । यस्तो लाग्छ; ब्रह्माण्ड स्वयम्ले हाम्रो आकाश गङ्गा, सौर्यमण्डल तथा पृथ्वीलाई अन्तरिक्षमा यसरी स्थापित गरेको छ कि यहाँ सहजताका साथ जीवन फुल्न, फल्न सकोस् । यसका लागि उसले अनेकौँ कारक तत्वलाई सूक्ष्मतम तथा उपयुक्तस्तरमा मिलाएको छ; जुन कुनै ब्रह्माण्डीय स्वस्फूर्त घटनाभन्दा महायोजना जस्तो प्रतीत हुन्छ । हाम्रो आकाश गङ्गा क्षीरमार्ग, सौर्यमण्डल तथा पृथ्वीको अवस्थितिलाई ब्रह्माण्डमा यसरी स्थापित गरिएको छ कि मानाँै कुनै शिल्पकारले हरेक तत्व तथा परिस्थितिलाई गणितीय सूत्रका आधारमा गणना गरेर नापेर राखेको होस् । हाम्रो ब्रह्माण्डको केवल दृश्यजगत्मा मात्र २० खर्बभन्दा बढी आकाश गङ्गा अवस्थित रहेको पाइन्छ । जीवनका लागि ब्रह्माण्ड क्रूर तथा प्रतिकूल स्थल मानिन्छ । यहाँ अत्यधिक ऊर्जाशील तथा घातक विकिरणहरूबाट निरन्तर रूपमा बमबारी भइरहन्छ । सुपरनोभा जस्ता तारकीय विस्फोट, ताराहरूको बिचमा प्राय: भइरहने उग्र ठक्कर, कृष्ण छिद्र (ब्ल्याक होल) जस्ता रहस्यमय संरचनाको महागुरुत्व आदि कति शक्तिशाली हुन्छन् भने यिनीहरूले सयौँ प्रकाशवर्ष टाढा अवस्थित ग्रह तथा ग्रह प्रणालीलाई निमेषभरमै नष्ट गर्न सक्छन् । तसर्थ ब्रह्माण्ड कुनै शान्त, सौम्य र जीवनका लागि उपयुक्त वासस्थान नभएर प्रलयकारी रूपमा निर्माण र विनाश निरन्तर चलिरहने अति घातक एउटा रङ्गमञ्च जस्तै हो ।
हाम्रो आकाश गङ्गा असामान्य रूपमा शान्तिपूर्ण रहेको पनि पाइन्छ । यसमा विगत १०/११ अर्ब वर्षको अवधिमा ज्यादै न्यून ताराहरूको टक्कर वा ताराहरूको विलय (मर्ज) भएको पाइन्छ । हाम्रो आकाश गङ्गा न अत्यधिक सुपरनोभा विस्फोट भइरहने जोखिमको क्षेत्रमा अवस्थित छ न त अन्य कुनै उग्र घटना हुने क्षेत्रमा पर्छ । यस आकाश गङ्गाको ‘तारकीय नर्सरी’ मा ताराहरूको निर्माणको गति पनि मध्यम प्रकारको छ । ‘गामा’ विकिरण जस्ता घातक विकिरणको प्रभाव पनि न्यून छ । तुलनात्मक रूपमा शान्त दीर्घजीविताले गर्दा ताराहरूको जन्म र मृत्युले जीवनका लागि आधारभूत तत्वहरू कार्बन, अक्सिजन, नाइट्रोजन तथा फलाम जस्ता धात्विक तत्वहरूको समुपस्थिति हुनुले ग्रहको निर्माण र जीवन विकासको उर्वर स्थल पनि यो हुन पुग्यो । सन् २०२५ सम्मको नवीनतम मोडेलहरू अध्ययन गर्दा हाम्रो आकाश गङ्गामा मात्र ६० हजारदेखि दुई लाख ५० हजारसम्म पृथ्वी सदृश ग्रहहरू हुन सक्ने अनुमान गरिएको छ तर सौर्यमण्डलको विशिष्टताले गर्दा हाम्रो पृथ्वी मात्र जीवनको एक दीपशिखाका रूपमा रहेको छ ।
हाम्रो आकाश गङ्गा सर्पिल (नागबेली) आकारको छ । यसको केन्द्रमा ‘साजेटेरियस ए’ नामक महाकाय कृष्ण छिद्र (ब्ल्याक होल) अवस्थित छ । यसमा चार सय अर्बभन्दा बढी सूर्य वा सूर्यभन्दा महाकाय ताराहरू अवस्थित छन् । यी सम्पूर्ण तारा तथा ग्रहहरू कृष्ण छिद्रको वरिपरि परिभ्रमण गर्छन् । यस आकाश गङ्गामा धेरै वटा घुमाउरा बाहु छन्; जुन केन्द्रको वरिपरि सर्पिल आकृतिमा फैलिएका छन् । यसमा चार वटा प्रमुख बाहुमध्ये आकाश गङ्गाको केन्द्रबाट लगभग २७ हजार प्रकाशवर्ष टाढा धनुर्बाहु (साजेटेरियस) र ययाति बाहु (पर्सियस) को बिचमा मृगबाहु (ओरायन) रहेको छ । यही बाहुमा हाम्रो सौर्यमण्डल अवस्थित छ । मृगबाहुमा अवस्थित हाम्रो सौर्यमण्डल सहरको कोलाहलबाट टाढा रहेको शान्त ग्रामीण भेग जस्तै छ । जहाँ अत्यधिक महागुरुत्व प्रभाव, ताराहरूको बिचको ठक्कर तथा विलय, सुपरनोभा विस्फोट जस्ता घातक ब्रह्माण्डीय घटनाहरू न्यून रूपमा घटित हुन्छन् । यो स्थल जीवन प्रादुर्भावका लागि अत्यधिक उपयुक्त स्थल मानिन्छ । किनकि हाम्रो सौर्यमण्डल वर्तमान स्थलभन्दा आकाश गङ्गाको केन्द्रको अलिक नजिक भएको भए कृष्ण छिद्रको महागुरुत्व प्रभाव र ऊग्र विकिरणले जीवनका लागि प्रतिकूल वातावरण सिर्जना हुने थियो । वर्तमान अवस्थितिभन्दा बाहिरी भागमा भएको भए धात्विक तत्वहरूको कमीले गर्दा ग्रह र जीवन निर्माणका लागि अनुपयुक्त स्थल हुने थियो । तसर्थ हाम्रो सौर्यमण्डललाई आकाश गङ्गाको बाहुमा हरेक परिस्थितिलाई अध्ययन गर्दै स्थापित गरेको जस्तो अनुभूति हुन्छ ।
उपयुक्त सौर्य आकृति : हाम्रो सूर्यको आकार पनि अहिलेको भन्दा घटबढ भएको भए जीवन सम्भव हुने थिएन । अहिलेको भन्दा ठुलो भएको भए यसबाट उत्सर्जित अत्यधिक तापले पृथ्वीको तापक्रम बढ्न गई यसमा भएको पानी वाष्पीकृत भएर अन्तरिक्षमा विलुप्त हुने थियो । सानो आकृति भएको भए पृथ्वीमा पर्याप्त ऊर्जा प्राप्त नभएर पृथ्वी बर्फीय हुन पुग्ने थियो र जीवन सम्भव हुने थिएन । तसर्थ सौर्य आकृति पनि पृथ्वीमा जीवन उद्भव हुन सम्भव हुने किसिमको रहेको छ ।
ग्रहहरूको सन्तुलित कक्ष : सौर्यमण्डलका सम्पूर्ण ग्रह एउटा उचित दुरीमा, सही गतिमा तथा गुरुत्वाकर्षणसँग सन्तुलन मिलाउँदै सूर्यको वरिपरि आफ्नो अण्डाकार कक्षमा घुमिरहेका छन्; जसले गर्दा ग्रहहरूबिच कुनै उग्र ठक्कर नभएर सौर्यमण्डलले दीर्घजीविता प्राप्त गरेको छ । ग्रहहरूको अक्ष, कक्ष र गतिको सन्तुलनमा अलिकति पनि हेरफेर भएको भए प्राणीको विकासक्रम सम्भव हुने थिएन । जीवनको आधारमा पनि उपयुक्त अवस्था सृजित हुने थिएन ।
सूर्यको स्थिर कक्ष : धेरै जसो ताराहरूको तुलनामा हाम्रो सूर्यको गाङ्गेय पथ गोलाकार तथा स्थिर छ; जसले गर्दा हामी आकाश गङ्गाको खतरायुक्त र विकिरणयुक्त क्षेत्रहरूमा बारम्बार प्रवेश गर्नबाट जोगिन्छौँ । सूर्यले एक गाङ्गेय वर्ष अर्थात् आकाश गङ्गाको वरिपरि परिभ्रमण गर्ने समय लगभग २५ करोड वर्ष लगाउँछ । यसरी परिभ्रमण गर्ने क्रममा अत्यधिक आवादित एवं उग्र स्थल प्रवेश गरेमा सौर्य प्रणालीमा अस्थिरता उत्पन्न भई जीवन सम्भव हुने थिएन ।
महाकाय ग्रह वृहस्पति : हिन्दु धर्ममा वृहस्पति ग्रहलाई देव गुरुका रूपमा प्रस्तुत गरिन्छ । तथापि वृहस्पति ग्रह पृथ्वीको महासंरक्षकका रूपमा रहेको देखिन्छ । सौर्यमण्डलको सबभन्दा विशालकाय ग्रह वृहस्पतिको अवस्थिति कसरी निर्धारित छ भने अन्तरिक्षबाट आएर पृथ्वीमा ठोक्किएर विनाश निम्त्याउन सक्ने उल्का पिण्डहरू तथा पुच्छे«ताराहरूलाई पृथ्वीतिर आउन नदिई सशक्त गुरुत्वाकर्षणले ती पिण्डहरूलाई आफूमा समाहित गर्छ; जसले गर्दा पृथ्वी विनाशकारी ठक्करबाट सुरक्षित रहँदै जीवन फक्रन सकेको छ ।
अक्षीय झुकाव : पृथ्वी अहिले घुमिरहेको अक्षीय गतिभन्दा केवल १० प्रतिशत मात्र बढी गतिले घुमेको भए पृथ्वीमा तीन सयदेखि चार सय किमी प्रतिघण्टाका दरले तीव्र हुरी बहने थियो । त्यसै गरी १० प्रतिशत मात्र ढिलो घुमेको भए पृथ्वीको दिवा समयको तापक्रम वृद्धि भएर ८० डिग्री सेन्ट्रिगे्रडसम्म पुग्ने थियो । रातिको तापक्रम माइनस ५० डिग्री सेन्ट्रिग्रेडसम्म पुग्ने थियो । यसबाट जीवन सहज रूपमा फक्रन सम्भव हुने थिएन । यसका अतिरिक्त पृथ्वीको अक्षको २३.५ डिग्री झुकावले ऋतुहरू परिवर्तन गरेर जैविक विविधतालाई सम्भव तुल्याएको छ । तसर्थ ऋतुहरू केवल मौसम परिवर्तन मात्र होइनन्; यिनीहरू त जीवनका विविध चरणहरू हुन्; जसले गर्दा जन्म, विकास र क्षयको चक्र सञ्चालन भइरहेको हुन्छ ।
सूर्य र पृथ्वीको सन्तुलित दुरी : सूर्य र पृथ्वीको दुरी यसरी सटिक रूपमा स्थापित छ कि मानौँ कसैले गणना गरेर राखेको होस् । पृथ्वी र सूर्यको दुरी अहिलेको भन्दा १० प्रतिशत मात्र नजिक भएको भए अत्यधिक तापले पृथ्वीलाई डढाएर जीवन सम्भव हुने थिएन भने १० प्रतिशत मात्र टाढा भएको भए पृथ्वी अत्यधिक चिसो भएर जम्न गई जीवनको क्रम नै रोकिन सक्थ्यो । यसरी पृथ्वी ‘वासस्थान योग्य क्षेत्र’ (गोल्डिलक क्षेत्र) मा अवस्थित हुनु जीवन प्रादुर्भावका लागि एक उत्तम स्थल हुन गएको छ ।
पृथ्वीको अन्तर्भाग (कोर) : पृथ्वीमा जीवनको प्रादुर्भाव तथा दीर्घजीवनका लागि यसको अन्तर्भागको अहम् भूमिका रहेको छ । पृथ्वीको केन्द्रमा अवस्थित फलाम तथा निकेल एवं सुन जस्ता तरल अवस्थामा रहेका धात्विक तत्वहरूको गतिशीलताको प्रवाहले केन्द्रमा ‘जियो डाइनोमा’ प्रक्रिया चल्न गई एक शक्तिशाली चुम्बकीय क्षेत्र उत्पन्न हुन जान्छ; जसले पृथ्वीको वरिपरि एउटा ‘विकिरण कवच’ निर्माण गरेर जीवनका लागि अत्यधिक हानिकारक सौर्य विकिरण तथा अन्तरिक्ष विकिरणबाट जीवनलाई सुरक्षित राख्छ । यसबाट प्राणीहरूको कोषिका विकिरणबाट सुरक्षित भई क्रमविकास निरन्तर चलिरहन्छ । यतिमात्र नभई यस प्रक्रियाले ‘प्लेट टेक्ट्रोनिक’ तथा ज्वालामुखीय गतिविधिलाई सञ्चालित गरेर तापक्रम नियन्त्रण, जीवनलाई गतिशीलता तथा जीवधारीमा विविधता उन्पन्न गरिरहेको हुन्छ ।
पृथ्वीको केन्द्र अहिलेको भन्दा सानो भएको भए तरल रूपमा रहेको फलाम तथा निकलको मात्रा न्यून हुन गई चुम्बकीय क्षेत्र अत्यधिक कमजोर वा चुम्बकीय क्षेत्र नै उत्पन्न नहुन सक्थ्यो । यस्तो अवस्थामा ब्रह्माण्डबाट आएको विकिरण तथा ‘सौर्य आँधी’ ले पृथ्वीको वायुमण्डललाई बिस्तारै उडाएर लग्ने थियो र पृथ्वी पनि मङ्गल ग्रह जस्तो जीवनहीन ग्रहमा रूपान्तरण हुन सक्थ्यो । यसै गरी पृृथ्वीको केन्द्र अहिलेको भन्दा ठुलो भएको भए गुरुत्व प्रभाव अत्यधिक हुन गई प्राणीहरूको उचाइ बढ्न गाह्रो हुने थियो । वायुमण्डलीय दबाब अत्यधिक बढ्न जान्थ्यो । परिणामस्वरूप ज्वालामुखी विस्फोट एवं भूकम्पीय गतिविधिमा तीव्रता आउने थियो । साथै उत्पन्न शक्तिशाली चुम्बकीय क्षेत्रले गर्दा वातावरणीय असन्तुलन कायम हुन गई पृथ्वी एउटा उग्र र अस्थिर स्थल भई जीवनको प्रादुर्भाव हुन सक्ने थिएन ।
चन्द्रमाको अहम् भूमिका : चन्द्रमाको समुपस्थितिले पृथ्वीमा ल्याउने ज्वारभाटाले समुद्री किनारामा जीवनको प्रादुर्भावका लागि ज्यादै आवश्यक तत्वहरूलाई एकत्र गरी पानीमा प्रथम पटक जैविक अणुको निर्माणमा अहम् भूमिका निर्वाह गर्यो । यसले नै जैविक विकासक्रम सम्भव तुल्यायो । यसका अतिरिक्त पृथ्वीको अक्षीय झुकाव तथा घुमाइलाई पनि स्थिर राख्दै, समुद्री पारिस्थितिक प्रणालीलाई संरक्षण गर्दै, उल्का पिण्डहरूबाट सुरक्षा आदि प्रदान गर्नाले नै पृथ्वी आजको जस्तो स्थिर, सन्तुलित र जीवनमैत्री हुन सम्भव भयो ।
जैविक चक्रहरूको सन्तुलन : पृथ्वी निरन्तर रूपमा चलिरहने कार्बन चक्र, जलचक्र, नाइट्रोजन चक्र आदिले गर्दा जीवनलाई आवश्यक पर्ने तत्वहरूको प्रभाव हुनुका साथै वनस्पतिहरूले कार्बन डाइअक्साइडको अवशोषण तथा अक्सिजनको प्रवाह तथा प्राणीले अक्सिजनको अवशोषण तथा कार्बन डाइअक्साइडको उत्सर्जन जस्ता प्रणाली पूर्ण रूपमा सन्तुलित छन् । यिनीहरूमा सूक्ष्मतम परिवर्तन आए पनि जीवन सम्भव हुने थिएन ।
वायुमण्डलको समुपस्थिति : पृथ्वीमा जीवन सम्भव हुन विविध कारणमध्ये वायुमण्डलको पनि अहम् भूमिका रहेको छ । वायुमण्डलमा अक्सिजन प्राणवायु नै हो । त्यसरी नै कार्बन डाइअक्साइड वनस्पतिजगत्को जीवन आधार हो । नाइट्रोजनले उर्वरता बढाउनुका साथै प्रोटिन निर्माणमा पनि अहम् भूमिका निर्वाह गर्छ । अक्सिजन, कार्बन डाइअक्साइड र नाइट्रोजनको मात्रा पनि वायुमण्डलमा अत्यन्त सन्तुलित छ । अक्सिजन र कार्बन डाइअक्साइड वायुमण्डलमा न धेरै हुनु पर्छ न त थोरै । यी ग्यासको समुचित सन्तुलन नै प्रकृतिको विशेषता हो; जुन अर्बौं वर्षको प्रकृतिको अथक प्रयत्नबाट निर्माण भएको हो । अक्सिजनको मात्रा बढी भएको भए वायुमण्डलमा अग्निको प्रकोप अत्यधिक हुन सक्थ्यो । कीटपतङ्गको आकृति पनि महाकाय हुन जान्थ्यो र धेरै अक्सिजनले स्तनधारीहरूमा फोक्सो र स्नायुमा असर गरेर विकसित प्राणीहरू पृथ्वीबाट विलुप्त हुने थिए । त्यसै गरी अक्सिजन कम भएमा ठुला स्तनधारीको जीवन सम्भव हुने थिएन । अत्यधिक कार्बन डाइअक्साइडको मात्राले ‘ग्रिन हाउस’ प्रभाव बढाउनुका साथै धु्रवीय हिम पग्लने, समुद्रको सतह बढ्ने तथा अक्सिजनको अभावमा जन्तुहरूको विकासक्रम हुन सक्ने थिएन । त्यसैले वायुमण्डलमा अक्सिजनको २१ प्रतिशत तथा कार्बन डाइअक्साइडको ०.०४ प्रतिशत अत्यधिक रूपमा सन्तुलित छ । यसका अतिरिक्त वायुमण्डलले परावैजनी किरणलाई रोकेर जीवनलाई सहज बनाएको छ । ओजोन तहले सुरक्षा प्रदान गरेको छ । वायुमण्डलबिना पृथ्वी पनि मङ्गल ग्रह जस्तै मरुभूमि बन्न सक्थ्यो । त्यसै गरी ओजोन तह पृथ्वीको विकासक्रममा ढिलो निर्माण भएको भए जीवन नष्ट भएर जान्थ्यो र धेरै चाँडो भएको भए रासायनिक विकासक्रम अवरुद्ध भएर जीवन सम्भव हुने थिएन ।
सूर्यको स्थिरता र प्रकार : सूर्य ‘जी’ प्रकारको मध्यमवर्गीय तारा हो । यसले दीर्घकालीन तथा स्थिर रूपमा ऊर्जा प्रवाह गर्न सफल भएको छ तर ऊर्जा प्रवाह गर्ने स्रोत ठुलो भएको भए तारामा विस्फोट भएर छिटो नै तारकीय मृत्यु हुन्थ्यो । धेरै सानो भएको भए पर्याप्त ऊर्जा प्राप्त हुने थिएन । सूर्यको स्थिर तथा दीर्घकालीन ऊर्जा प्रवाहले पृथ्वीमा जीवन सम्भव हुन गएको हो ।
पानीको अद्वितीय गुण : तरल अवस्थामा रहेको पानीमा उच्च ताप धारण क्षमता तथा उत्कृष्ट घोलक हुनाले जीवधारीको कोषिकाभित्र रासायनिक प्रतिक्रिया सम्भव भएर जीवनका लागि आवश्यक तत्वहरूको परिवहन सम्भव हुन गयो र जीवनको प्रादुर्भाव सम्भव भयो । पानीको उच्च ताप धारण क्षमताले जीवधारीहरूको तापक्रम स्थिर रहन सम्भव भयो ।
पृथ्वीको गुरुत्वाकर्षण : पृथ्वीको गुरुत्वाकर्षणले वायुमण्डललाई बाँधेर राख्नुका साथै पानीलाई सतहबाट उडेर जान दिएन । प्राणीहरूको आकृतिलाई नियन्त्रण गरेर अत्यधिक ठुलो वा सानो हुन दिएन । गुरुत्व अलिकति पनि कम भएको भए वायुमण्डल उडेर जान्थ्यो र बढी भएको भए जीवन अग्लो हुन सक्दैनथ्यो र वृद्धि रोकिने थियो ।
भूमिजल सन्तुलन : पृथ्वीको प्रारम्भिक कालमा पृथ्वी स्वयं उग्र र सुक्खाक्षेत्र थियो । यसमा पानीको पूर्णतया अभाव थियो । जलले भरिएका उल्का पिण्डहरूले पृथ्वीमा गरेको निरन्तर आघातले पृथ्वीलाई जलपूर्ण बनायो तर जल यति मात्रामा मात्र पृथ्वीमा आयो कि जीवन सम्भव हुन सकोस् । अत्यधिक पानीको मात्रा भएको भए पृथ्वीको सम्पूर्ण जमिन पानीले ढाकिन गई ‘खनिज चक्र’ बन्द हुने थियो भने धेरै कम पानीको मात्रा भएको भए जैविक विकास अवरुद्ध हुने थियो । यस्तो जलीय अद्भुत सन्तुलनले पृथ्वीमा जीवन प्रादुर्भाव हुन सम्भव भयो ।
यसरी सौर्यमण्डलमा सम्पूर्ण तत्वको कति सूक्ष्मतम सन्तुलन छ भने यो केवल ब्रह्माण्डीय घटनाहरूको अन्ध संयोग मात्रले सृष्टि सम्भव हुँदैन । यस तथ्यलाई आत्मसात् गर्नै पर्छ । धार्मिक तथा दार्शनिक दृष्टिकोणवादीहरू सृष्टि कुनै एक महाशक्तिसम्पन्न सर्वव्यापी चेतन स्रष्टाको एउटा निश्चित महायोजना एवं उद्देश्यबिना सम्भव नभएको मान्छन् । तथापि सर्वव्यापी, सर्वशक्तिमान स्रष्टाको सृष्टिकर्ता को होला भन्ने प्रश्न अद्यापि रहिरहेको छ । त्यसै गरी वैज्ञानिक दृष्टिकोणबाट भौतिक नियमहरूको परिचालन, पारमाणविक अन्तक्रियाहरू तथा अर्बौं वर्षको निरन्तर रूपमा चलिरहेको भौतिक परिवर्तन तथा प्राकृतिक संयोजनले गर्दा कुनै महायोजनाभन्दा प्रकृतिका नियमहरूको परिणामले जीवन सम्भव भएको मानिन्छ तर ब्रह्माण्डको सृष्टिपूर्वको अवस्थाबारे विज्ञान पूर्णतया मौन छ । तसर्थ यो ब्रह्माण्ड र यसमा निहित सृष्टि एउटा चेतना र भौतिक नियमहरूको महासम्मिलन पो हो कि ?
प्रतिक्रिया