Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
1 months ago September 19, 2026 Visted:32

संवैधानिक सर्वोच्चता : समृद्ध नेपाल निर्माणमा युवाको भूमिका


img

प्रथम भट्टराई 

 

नेपालको संविधान, २०७२ वर्तमान शासन व्यवस्थाको आधार हो । संविधान देशको मूल कानून हो । राज्यका सबै अंग संविधानकै अधीनमा रहेर सञ्चालन हुन्छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संविधानले तोकेको सीमाभित्र रहन्छन् । संविधानले नागरिकलाई ३१ वटा मौलिक हक प्रदान गरेको छ। तीमध्ये समानताको हक, स्वतन्त्रताको हक, शिक्षाको ह-क, स्वास्थ्यसम्बन्धी अधिकार र सामाजिक न्याय आदि हुन् । कानूनको पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु र अरूको अधिकारको सम्मान गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। नागरिकले अधिकार पाउनु मात्र पर्याप्त हुँदैन। अधिकारसँगै कर्तव्य पनि जोडिएको हुन्छ ।

संवैधानिक सर्वोच्चता भन्नाले संविधानभन्दा माथि कुनै व्यक्ति, संस्था वा शक्ति नहुने अवस्था हो। सरकार, राजनीतिक दल, न्यायपालिका र नागरिक सबै संविधानको अधीनमा हुन्छन्। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा संसद् पनि संविधानभन्दा माथि हुँदैनन्। यसले व्यक्तिको इच्छाभन्दा कानूनको शासनलाई महत्व दिन्छ। सबै नागरिकलाई कानूनको नजरमा बराबर बनाउँछ। त्यसैले संवैधानिक सर्वोच्चता लोकतन्त्रको महत्वपूर्ण आधार हो। तर संविधान लेख्दैमा संवैधानिक सर्वोच्चता कायम हुँदैन। संविधानका प्रावधान र भावना व्यवहारमा लागू हुनुपर्छ। यसमा युवाको व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कानून आफ्नो पक्षमा हुँदा मान्ने र आफ्नो पक्षमा नहुँदा नमान्ने प्रवृत्तिले संविधान बलियो हुँदैन। संविधानको सम्मान सबैले गर्नुपर्छ।

समृद्ध नेपाल निर्माणमा युवाको भूमिका भन्नाले युवाको ज्ञान, सीप, श्रम, सिर्जनशीलता, उद्यमशीलता र नागरिक जिम्मेवारीलाई राष्ट्रको आर्थिक, सामाजिक र प्राविधिक विकासमा उपयोग गर्ने प्रक्रियालाई बुझिन्छ। युवाको ज्ञान, सीप र प्रविधि प्रयोग गर्ने क्षमता देशको सम्पत्ति हो। जोखिम उठाउने साहस पनि युवाको शक्ति हो। त्यसैले युवा उमेरले मात्र चिनिने समूह होइन। देशको वर्तमान अवस्था बुझ्ने, भविष्यबारे सोच्ने र आफ्नो ज्ञान, सीप तथा सिर्जनशीलताबाट समाजमा योगदान गर्न सक्ने पुस्ता पनि युवा हो।

समृद्ध नेपाल निर्माणको कुरा गर्दा समृद्धिको अर्थ बुझ्न आवश्यक छ। समृद्धि भनेको आर्थिक वृद्धि मात्र होइन। गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, उत्पादन, सामाजिक सुरक्षा, वातावरणीय दिगोपन, सुशासन र समान अवसर पनि समृद्धिका आधार हुन्। ठूलो भवन र फराकिलो सडक बनेपछि मात्र देश समृद्ध भएको मानिँदैन। नागरिकले सम्मानपूर्वक जीवन बिताउन पाउने अवस्था पनि समृद्धिको मापदण्ड हुन सक्छ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को सन्दर्भमा युवा उमेर समूहलाई १६ देखि ४० वर्षसम्म मानिन्छ। युवा जनशक्ति मात्र होइन, मानव पुँजी पनि हो। आजका विद्यार्थी र युवा नै भोलिका शिक्षक, कर्मचारी, उद्यमी, वैज्ञानिक, किसान, प्राविधिक, जनप्रतिनिधि र नीति निर्माता बन्नेछन्। युवा राष्ट्रका वर्तमान र भविष्य दुवै हुन्। वर्तमानमा युवाले गरेको कामले भविष्यमा देश कुन दिशातर्फ जाने भन्ने कुरामा प्रभाव पार्छ। युवाहरू देशको भाग्य र भविष्य निर्माता हुन्।

नेपालमा भएका राजनीतिक परिवर्तनमा युवाहरूको वीरता र बलिदान जोडिएको छ। ती परिवर्तनको नेतृत्व पनि युवाहरूले गरेका थिए। कतै किसानले खेती गरे। कालिगढले आफ्नो सीप प्रयोग गरेर बुट्टा भरे। व्यापारीले बजार विस्तार गरे। कलाकारले कला र संस्कृतिलाई अघि बढाए। शिक्षकले ज्ञान बाँड्ने काम गरे। गौतम बुद्ध, अरनिको, अंशुवर्मा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापा, फाल्गुनन्द र पासाङल्हामु शेर्पाजस्ता व्यक्तित्वले विभिन्न क्षेत्रमा योगदान दिए। यसबाट युवाको ज्ञान, श्रम र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा प्रयोग गर्न सकिने कुरा स्पष्ट हुन्छ।

विकास, समृद्धि र युवा एकअर्कासँग जोडिएका विषय हुन्। संविधानले असल शासन र नागरिक अधिकारको आधार तयार गर्छ। विधिको शासन र सुशासनले लगानी, उत्पादन र रोजगारीका लागि राम्रो वातावरण बनाउन सक्छ। आजका युवाले सिकेको ज्ञान, विकास गरेको सीप र गरेको राम्रो काम नै भोलिको समृद्ध नेपालको आधार बन्न सक्छ। युवाको ऊर्जा सही दिशामा परिचालन गर्न सकियो भने संवैधानिक व्यवस्था पनि बलियो हुन्छ। विकासका कामले पनि गति लिन सक्छ।

नेपाल विविधताले बनेको देश हो। यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ जातजाति र १२४ मातृभाषा रहेका छन्। समृद्ध नेपाल निर्माणमा यो विविधतालाई विभाजनको आधार होइन, सहकार्यको आधार बनाउनुपर्छ। युवाले जातीय, भाषिक, धार्मिक र क्षेत्रीय विभेदको विरोध गर्नुपर्छ। अरूको अधिकार र पहिचानको सम्मान गर्नुपर्छ। सहिष्णु समाज नै सभ्य समाज कहलाउँछ।

नेपालमा कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि, उद्योग, जडीबुटी र सेवा क्षेत्रमा सम्भावना छन्। यी सम्भावनालाई उत्पादनमा बदल्न युवाको भूमिका आवश्यक छ। प्रविधिमा आधारित कृषि गर्न सकिन्छ। सिँचाइ र स्थानीय उत्पादनमा नयाँ प्रविधि प्रयोग गर्न सकिन्छ। युवाले कृषि उद्यम सुरु गर्न सक्छन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्न सक्छन्। यसबाट रोजगारी सिर्जना हुन सक्छ।

पर्यटनमा पनि युवाले नयाँ सोच ल्याउन सक्छन्। प्रविधिको प्रयोगबाट स्थानीय संस्कृति, कला, परम्परा र प्राकृतिक स्रोतलाई पर्यटनसँग जोड्न सकिन्छ। सूचना प्रविधिको प्रयोग गरेर पर्यटनको प्रचार, सेवा र व्यवस्थापन गर्न सकिन्छ। नेपालमै बसेर विश्वव्यापी सूचना प्रविधिको क्षेत्रमा काम गर्ने सम्भावना पनि बढिरहेको छ। अब युवाले नयाँ व्यवसाय सुरु गरेर अरूलाई रोजगारी दिने सोच विकास गर्न आवश्यक छ। युवा रोजगारी खोज्ने मात्र होइन, -रोजगारी सिर्जना गर्ने जनशक्ति पनि बन्नुपर्छ।

समृद्ध नेपालका लागि युवाहरू उद्यमी बन्न आवश्यक छ। एउटा सफल उद्यमीले आफ्नो आम्दानी मात्र बढाउँदैन। उसले अरूका लागि पनि रोजगारी सिर्जना गर्न सक्छ। त्यसैले शिक्षा र सीपलाई रोजगारीसँग जोड्नुपर्छ। युवालाई उद्यम गर्न सहज वातावरण बनाउन राज्यको भूमिका पनि आवश्यक हुन्छ।

समृद्ध नेपाल निर्माणका सामु चुनौती पनि कम छैनन्। बेरोजगारी ठूलो समस्या हो। धेरै युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन्। शिक्षित युवाले पनि आफ्नो सीपअनुसार काम पाउन सकेका छैनन्। सरकारी कामकाजमा हुने ढिलासुस्ती, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, गाउँ–सहरबीचको असमानता र उपलब्ध स्रोतसाधनको सीमित उपयोगले विकासमा असर पारेको छ। यी समस्या समाधान गर्न प्रभावकारी नीति आवश्यक हुन्छ। त्यसमा युवाको सहभागिता पनि महत्वपूर्ण हुन्छ।

पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनले युवाको आवाजलाई चर्चामा ल्याएको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनसँग सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी र जवाफदेहिताजस्ता विषय जोडिएका थिए। यस्तो अवस्थामा युवाले आफ्नो अधिकारसँगै कर्तव्य पनि बुझ्नुपर्छ। संविधान पढ्नुपर्छ। कानूनको सम्मान गर्नुपर्छ। गलत सूचना फैलाउनु हुँदैन। विभेद र अन्यायको विरोध गर्नुपर्छ। लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुपर्छ। सार्वजनिक कामका विषयमा चासो लिनुपर्छ। कानून हातमा लिएर संवैधानिक व्यवस्थाको अपमान गर्नु हुँदैन। युवाको जोस, जाँगर र सीपलाई देश निर्माणको शक्तिमा बदल्नुपर्छ। युवाको भूमिका सडक आन्दोलनमा मात्र सीमित हुँदैन।

आजको युवा सूचना, ज्ञान र प्रविधिको युगमा बाँचिरहेको छ। त्यसैले विद्यालय र विश्वविद्यालयबाट प्राप्त ज्ञानसँगै प्राविधिक ज्ञान र डिजिटल सीपमा ध्यान दिन आवश्यक छ। विभिन्न भाषा सिक्नु पनि उपयोगी हुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा र साइबर सुरक्षाजस्ता क्षेत्रमा युवाले नयाँ अवसर खोज्न सक्छन्। स्थानीय समस्याको समाधानमा पनि प्रविधिको प्रयोग गर्न सकिन्छ। नयाँ सीप सिक्ने, वातावरण सफा राख्ने, वृक्षरोपण गर्ने, संस्कृति संरक्षणमा सहभागी हुने, कमजोरलाई सहयोग गर्ने, सामाजिक सञ्जालमा गलत सूचना फैलिन नदिने र स्थानीय सरकारको कामबारे जानकारी लिने जस्ता कामबाट पनि युवाले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सक्छन्।

रोजगारीका लागि विदेश जानु आफैंमा समस्या होइन। धेरै नेपाली युवाले विदेशबाट ज्ञान, सीप र अनुभव हासिल गरेका छन्। मुख्य प्रश्न स्वदेशमा अवसरको अभाव हो। नेपालमा सम्मानजनक रोजगारीको वातावरण तयार गर्न सके विदेशबाट फर्किएका युवाको ज्ञान र सीप देशमा प्रयोग गर्न सकिन्छ। विदेशमा सिकेको ज्ञान नेपालमा प्रयोग गर्ने वातावरण बनाउन सके ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्न सकिन्छ। यसका लागि सरकारी प्रयास र युवाको भूमिका दुवै आवश्यक हुन्छ।

संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो। त्यसैले युवाको सहभागिता स्थानीय तहबाट सुरु गर्न सकिन्छ। युवाले आफ्नो गाउँठाउँका समस्या बुझ्न सक्छन्। विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, वातावरण र रोजगारीका विषयमा चासो राख्न सक्छन्। स्थानीय उत्पादनको प्रचार गर्न सक्छन्। सामाजिक काममा समूह बनाएर सहभागी हुन सक्छन्।

देश निर्माण राजधानीबाट मात्र हुँदैन। गाउँमा उत्पादन बढेपछि पनि देश विकास हुन्छ। स्थानीय व्यवसाय चलेपछि पनि विकास हुन्छ। गाउँका विद्यालय राम्रो भएपछि पनि विकास हुन्छ। नागरिकले आफ्नो स्थानीय सरकारसँग प्रश्न गर्न थालेपछि पनि देश विकास हुन्छ। सरकारले शिक्षा र सीपलाई रोजगारीसँग जोड्नुपर्छ। त्यसका लागि सहज वातावरण बनाउनुपर्छ। युवाले पनि आफ्नो जिम्मेवारीबाट पछि हट्नु हुँदैन। आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ। गलत कामका लागि शान्तिपूर्ण विरोध गर्नुपर्छ। युवाले राजनीति बुझ्नुपर्छ तर अन्ध समर्थन गर्नु हुँदैन। कानूनको पालना एक दिन मात्र गरेर हुँदैन। समाजका हरेक क्षेत्रमा कानूनको सम्मान हुनुपर्छ। संविधानको सम्मान दैनिक जीवनको संस्कार बन्नुपर्छ।

समृद्ध नेपाल सरकारको मात्र लक्ष्य र योजना होइन। यो नागरिकको साझा जिम्मेवारी पनि हो। त्यसका लागि संविधानले दिएको अधिकारको उपयोग गर्दै आफ्नो कर्तव्य पूरा गर्ने युवा आवश्यक छ। ज्ञान र सीप हासिल गर्ने युवा आवश्यक छ। उत्पादन र उद्यममा लाग्ने युवा आवश्यक छ। तथ्यका आधारमा प्रश्न गर्ने युवा आवश्यक छ। विभेद र गलत सूचनाको विरोध गर्ने युवा आवश्यक छ। नेपालको संविधानले अधिकार दिएको छ। राज्य सञ्चालनको आधार पनि दिएको छ। तर संविधान राम्रो भएर मात्र देश समृद्ध हुँदैन। संविधानको पालना गर्ने संस्कार चाहिन्छ। कानूनको सम्मान गर्ने नागरिक चाहिन्छ। मेहनत गर्ने जनशक्ति चाहिन्छ। सीप र ज्ञानलाई उत्पादनमा बदल्ने युवा चाहिन्छ।

निष्कर्षमा, संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको सहभागिता अलग–अलग विषय होइनन्। संविधानले विधिको शासन र अधिकारको आधार दिन्छ। यसको प्रभावकारी कार्यान्वयनले सुशासन र नागरिकको विश्वास बलियो बनाउन मद्दत गर्छ। युवाले संविधानको सम्मान गर्दै आफ्नो अधिकार र कर्तव्य बुझ्नुपर्छ। शिक्षा, सीप, उत्पादन, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक सहभागितामा युवाको सक्रियता आवश्यक छ। संविधानको सम्मान गर्ने, विभेदको विरोध गर्ने, ज्ञान र सीपलाई उत्पादनमा बदल्ने तथा सार्वजनिक काममा जिम्मेवार बन्ने युवा समृद्ध नेपालको महत्वपूर्ण आधार बन्न सक्छन्। त्यसैले संवैधानिक सर्वोच्चतालाई व्यवहारमा उतार्दै युवाको ज्ञान, श्रम र सिर्जनशीलतालाई देश निर्माणमा प्रयोग गर्नु आजको आवश्यकता हो।

प्रथम भट्टराई 

कक्षा ९ ख 

विश्वनिकेतन माध्यमिक विद्यालय  त्रिपुरेश्वर,  काठमाडौं  ।

 

Share:

प्रतिक्रिया