लेखनाथ, भदौ १२ गते । शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा दुई जनालाई बगाएको छ ।
बाटोमा बगेको वर्षाको पानीले पोखरा–३०, ढुङ्गेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल, उहाँकी दुई वर्षीया छोरी रानिका र उहाँका बुवा गिरीप्रसाद दाहाललाई बगाएको हो ।
दिउँसो ४ बजेतिर पोखरा–७ को पुरानो विमानस्थल निजकै आफूहरु सवार स्कुटर रोकेर वर्षाका कारण सडक किनारामा जान लाग्दा दुवैलाई पानीले बगाएको हो ।
ग १३ प २८५९ नम्बरको स्कुटर रोकेर उहाँहरु सडक किनारातिर जान लाग्दा भेलले बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि प्रहरीले करिब एक किलोमिटर तल पोखरा–१७, बिरौटाको नहरकुलोबाट उहाँहरुलाई उद्धार गरेको थियो । उहाँहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । गिरीप्रसाद, शुष्मा र रानिका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पोखराको मुख्य सडकमै नाली नहुँदा बारम्बार वर्षातका बेला बाटोमै उर्लिने भेलले मानिस र सवारी साधानहरु बगाउने गरेको छ ।
प्रतिक्रिया