हुम्ला, भदौ ५ गते । खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन्।
बिहीबार बेलुका नदी किनारमा पौडी खेल्न गएका खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिका कर्णाली नदीको तीव्र बहावमा बगेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।
बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहनुभएको छ। दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्थ्यो।
नदी किनारमा खेल्ने क्रममा उहाँहरूलाई कर्णाली नदीको बहावले बगाएको खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले बताउनुभयो। बिहीबार कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उहाँहरू सुनाखाडा पुग्नुभएको थियो।
घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले कर्णाली नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरे पनि नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
दुई बालबालिका एकैपटक बेपत्ता भएपछि तल्लोलाली गाउँ शोकमा डुबेको छ। बेपत्ता बालबालिकाको खोजी कार्य शुक्रबार बिहानदेखि पुनः सुरु गरिने जनाइएको छ।
प्रतिक्रिया