काठमाडौँ, साउन ११ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा जितका लागि नामिबियाले नेपाललाई दुई सय १२ रनको लक्ष्य दिएको छ ।
सोमबार टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ११ रन बनायो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय इनिङ्स खेल्नुहयो ।
सय रन बनाउनुभएको उहाँले एक सय ४९ बलमा तीन चौका हान्नुभयो । यस्तै लरेन स्टिनक्याम्पले ५९, मालान क्रुगरले १५ र जान निकोल लोफ्टी–इटनले अविजित १० रन बनाउनुभयो ।
बलिङमा नेपालका करण केसी एक्लैले पाँच विकेट लिनुभयो । उहाँले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिनुभयो । यससँगै करणले एकदिवसीयमा एक सय विकेटको आँकडा पूरा गर्नुभएको छ । यस्तै सोमपाल कामीले एक विकेट लिनुभयो ।
कमजोर ब्याटिङका कारण अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई लिग–२ को शीर्षचारमा रहन अबका खेल जित्नै पर्ने दबाब छ । लिगमा ३० खेल सकेको नेपाल अहिले २४ अङ्कसहित पाँचौँ स्थानमा छ ।
समान खेलबाट २४ नै अङ्क बनाएको नामिबिया छैटौँ स्थानमा छ । आज जित्ने टोलीले पाँचौँ स्थान ओगट्नेछ । समान खेलबाट ३६ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ ।
नेपाल यस श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले स्तब्ध बनेको थियो । नेपालले यसपछि अन्तिम खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै यस शृङ्खलाको समापन गर्ने छ ।
आठ टोली सहभागी लिग–२ मा एकअर्कासँग कूल ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । एकदिवसीय मान्यता प्राप्त गर्न शीर्ष ६ स्थानमा अटाउनुपर्नेछ ।
प्रतिक्रिया