Tuesday, July 28, 2026

Font Size:

logo
24 Hours ago July 27, 2026 Visted:3

फालेलुङ पहिरो क्षेत्रको निरिक्षण : स्थानीयलाई सुरक्षित स्थानमा सर्न सुझाव


img

फिदिम, साउन ११ गते । पाँचथरको फालेलुङ ५ लुमाङदिनमा गएको पहिरोको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अङ्गका प्रमुखहरुले स्थलगत निरिक्षण गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसहित जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुखहरूले सोमबार स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा बस्ती अत्यन्त जोखिमयुक्त रहेको पाइएकाले स्थानीयलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ ।

स्थलगत निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी दाहालसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्ण, नेपाली सेनाको रणशेर गणका गणपति किशोर अधिकारी र सशस्त्र प्रहरी बल नेपाल नं. २ हिमशिखर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर राना लगायत सहभागी हुनुहुन्थ्यो ।

अधिकांश जमिनमा धाँजा फाटेको छ, घरहरू चर्किएका छन्,वर्षा जारी रहे थप पहिरो जान सक्ने जोखिम छ, बस्तीको पुछारबाट जमिन निरन्तर तानिने क्रम रोकिएको छैन । पहिरोले भयावह रुप लिने संकेत देखिएकाले सवै गाउँबासीलाई सुरक्षित जान सुझाइएको छ,अधिकांसले यस अघि नै घर छोडिसकेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।

पहिरोका कारण यहाँ चार परिवार विस्थापित भइसकेका छन् भने थप ३५ घरका १ सय ६८ जना उच्च जोखिममा रहेका छन । विस्थापित परिवारलाई हाल आफन्तको घरमा राखिएको छ । 

आवश्यक परे नजिकैको सिद्ध आधारभूत विद्यालयमा अस्थायी आवासको व्यवस्था गर्ने तयारी गरिएको वडाध्यक्ष भरतकुमार खपाङ्गीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रभावित परिवारलाई त्रिपाल उपलब्ध गराइ सकिएको छ भने गाउँपालिका मार्फत खाद्यान्न सहयोग वितरण गरिएको छ । 

यसअघि पनि फालेलुङ गाउँपालिका–२ मा आठ र वडा ३ मा एक घर पहिरोका कारण विस्थापित भइसकेका छन्। लगातारको वर्षासँगै ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा फालेलुङ गाउँपालिका प्राकृतिक नाकाबन्दीजस्तै अवस्थामा पुगेको छ ।

प्रशासनले मौसममा सुधार नआएसम्म जोखिमयुक्त बस्तीका नागरिकलाई अनावश्यक रूपमा घरमा नबस्न र स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

Share:

प्रतिक्रिया