काठमाडौँ, जेठ २८ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण सुरु गरिएको छ । शिलान्यास गरिएको २९७ किमी लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड र न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन खण्ड रहेको एमसिए नेपालले जनाएको छ ।
निर्माण थालिएका सबस्टेसन तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न छन् । टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यु दमौली सबस्टेसन निर्माण गर्दै छ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमी लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारण लाइन खण्ड निर्माण गर्ने छन् ।
त्यस्तै एन्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमी लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमी लामो न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दै छन् ।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यु दमौली सबस्टेसन नेपालका सबैभन्दा ठुला उच्च भोल्टेज क्षमताका सबस्टेसनमध्येका हुने छन् । यी सबस्टेसन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउने जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको यस साझेदारीले अन्तर्राष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त चार सय केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै छ । यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रिडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्ने छ । साथै घरपरिवार र व्यवसायका लागि विद्युत् आपूर्तिको भरपर्दाेपनामा सुधार गर्ने छ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको बृहत् सहभागिता गराउन सघाउने छ ।
प्रतिक्रिया