Thursday, June 11, 2026

Font Size:

logo
6 Hours ago June 11, 2026 Visted:4

मेक्सिकोलाई घरेलु मैदान र समर्थकको फाइदा


img

मेक्सिको सिटी, जेठ २८ गते । विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दा इतिहासको पुनरावृत्ति हुने छ । विश्वकपको इतिहासमा यी दुई टिमले पहिलो खेल खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा भएको विश्वकपको उद्घाटन खेलमा यी दुई टिम भिडेका थिए । सो समय दक्षिण अफ्रिका आयोजक राष्ट्र थियो । सो खेल १–१ ले बराबरीमा सकिएको थियो । 

१६ वर्षपछि भूमिका फेरिएको छ । अहिले मेक्सिको घरेलु मैदानमा खेल्दै छ । सन् १९९४ पछि मेक्सिकोका लागि पहिलो खेल फलदायी रहेको छ । पछिल्ला सात विश्वकपको पहिलो खेलमा मेक्सिकोले हार बेहोरेको छैन । यस क्रममा उसले पाँचमा जित र दुई बराबरीमा खेलेको थियो ।

केन्केकाफ क्षेत्रमा महाशक्ति टिम मेक्सिकोले आफ्नो छवि अनुरूप विश्वकपमा खेल्न सकेको छैन । ४० वर्षपछि विश्वकप आयोजना गर्ने मौका पाएको मेक्सिकोले लामो समयदेखि कन्केकाफ क्षेत्रमा धाक जमाएको मात्र होइन, विश्वकपमा प्रायः देखिने टिम पनि हो । विश्वकपमा मेक्सिकोले १८ औँ पटक उपस्थिति जनाउँदै छ । ब्राजिल जस्तै मेक्सिकोको पनि फुटबल खेल्ने आफ्नै मौलिक शैली छ । सन् २०१० पछि मात्र मेक्सिकोले पाँच पटक यस क्षेत्रको सबभन्दा ठुलो प्रतियोगिता गोल्डकप्स जितेको छ । मेक्सिकोको टिममा १० खेलाडी युरोपमा व्यावसायिक फुटबल खेल्छन् तर मेक्सिकोले अन्तिम १६ चरण पार गर्न नसकेको लगातार आठ विश्वकप भइसक्यो । 

मेक्सिकोले यस पटक घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै लामो यात्रा तय गर्ने योजना बनाएको छ । सन् १९७० र १९८६ मा विश्वकपको आयोजना गर्दा मेक्सिकोले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्दै छ । मेक्सिकोको टिममा प्रशिक्षक ह्याभिर अग्वेरी फर्कनुभएको छ । सन् २०१० मा उहाँकै प्रशिक्षकमा मेक्सिकोले दक्षिण अफ्रिकामा खेलेको थियो । दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा गोल गर्ने बार्सिलोनाका पूर्वखेलाडी राफा मार्केज पनि सहायक प्रशिक्षकका रूपमा मेक्सिकोको टिममा संलग्न हुनुहुन्छ । 

दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो बु्रस मेक्सिकोविरुद्ध उसकै मैदान आज्टेका रङ्गशालामा करिब ८० हजार दर्शकसामु खेल्न आफ्नो टिमलाई सहज नहुने स्विकार्नुहुन्छ तर उहाँ भन्नुहुन्छ, “हामीलाई गुमाउनु केही छैन, यही पक्षले हामीलाई मेक्सिकोविरुद्धको खेलमा फाइदा गर्ने छ ।” सन् २०१० मा विश्वकपको आयोजना गर्दा नै दक्षिण अफ्रिका समूह चरण पार गर्न असफल भएको थियो । सो समय दक्षिण अफ्रिका विश्वकपको इतिहासमै समूह चरण पार गर्न नसकेको पहिलो आयोजक राष्ट्र बनेको थियो । बाफाना बाफाना उपनामले चर्चित दक्षिण अफ्रिका त्यसपछिका तीन संस्करणमा छनोट पनि हुन सकेन । अझ दक्षिण अफ्रिका सन् २००२ पछि पहिलो पटक विश्वकपमा चयन हुन सफल भएको हो । सन् २०१० मा उसले आयोजकको हैसियतले छनोट चरण खेल्नु परेको थिएन । 

अफ्रिका कप अफ नेसन्समै दक्षिण अफ्रिकाको प्रदर्शन उल्लेख गर्नलायक छैन । सन् २०१२ र २०१७ मा दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्समा पनि छनोट हुन सकेको थिएन । प्रशिक्षक बु्रसले यस पटक प्रायः दक्षिण अफ्रिकी टिममा घरेलु लिगमा खेल्ने खेलाडीलाई नै विश्वास गरेको छ । यी खेलाडीले विश्वकप छनोटमा सानदार प्रदर्शन गरेपछि दक्षिण अफ्रिका अहिले विश्वकपमा पनि टिमबाट सोही लयको अपेक्षामा छ । दक्षिण अफ्रिकाले नाइजेरियालाई पनि पछाडि पार्दै समूह विजेताका रूपमा विश्वकपमा स्थान बनाएको थियो ।

मेक्सिको र दक्षिण अफ्रिकाले अहिलेसम्म कुल चार खेल एकअर्काविरुद्ध खेलेका छन् । जसमध्ये मेक्सिकोले दुई तथा दक्षिण अफ्रिकाले एक खेल जिते । एक खेल बराबरीमा सकिएको थियो । यी दुई रहेको समूह ‘ए’ मा चेक गणतन्त्र र दक्षिण कोरिया पनि रहेका छन् । एजेन्सी   

Share:

प्रतिक्रिया