काठमाडौँ । अब भने सरकारले निकासीमा मात्रै अनुदान दिनेभन्दा पनि निर्यात गरिने वस्तुको उत्पादनमै आधारित भएर प्रोत्साहन कार्यक्रम लागू गर्न खोजेको छ । त्यसअनुसार उत्पादनमा आधारित प्रोत्साहनसम्बन्धी कार्यक्रमको मस्यौदा कार्यविधि उद्योग विभागले तयार गरेको छ । विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, ‘विभिन्न सूचकका आधारमा मूल्यांकन गरेर अब उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गर्ने हो, त्यसको मस्यौदा तयार पारी अर्थ मन्त्रालयमा रायका लागि पेश गरिएको छ ।’
उक्त मस्यौदामा निर्यात गरिने वस्तुको उत्पादन अभिवृद्धिलाई उच्च महत्त्व दिएर अंकभार पनि ५० प्रतिशत राखी अन्य सूचकको अभिवृद्धिका आधारमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिने भएको छ ।
त्यसमा उत्पादनका साथै लगानी, निर्यात अभिवृद्धिजस्ता सूचकका आधारमा कति प्रतिशतले बढाए भन्ने मूल्यांकन गरी सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने गरी कार्यविधिको मस्यौदा तयार गरिएको छ । बस्नेतका अनुसार मस्यौदामा अहिले निर्यात भइरहेकै प्रमुख वस्तुका साथै नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) मा भएका प्रमुख वस्तु पनि समेटिएको छ ।
एनटीआईएसमा भएका वस्तुः
कृषि क्षेत्रतर्फः अलैंची, अदुवा, दलहन, जुट र चिया ।
वनजन्यतर्फः जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हातेकागज र रोजिन तथा टर्पेन्टाइन ।
ठूला उद्योगतर्फ थपिएका वस्तुः फलाम तथा स्टील, धागो तथा कपडा, जुत्ता र तयारी पोशाक ।
साना तथा घरेलु उद्योगतर्फ थपिएका वस्तुः गलैंचा, गहना, पश्मिना, पास्ता, ऊनबाट बनेका सामान (फेल्टसहित) ।
उदीयमान वस्तुः सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू (दालचिनी, बेसार, लसुन, केसर, जीरा, मरिच र तेजपात), हस्तकला, लामा रेशाका कपडाहरू (अल्लो र हेम्पका रेशाहरू), कफी, पीपीसी सिमेन्ट, छुर्पी र मह ।
नयाँ तथा भविष्यमा सम्भावना हुन सक्ने वस्तुः हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनको परिधिभित्र रही स्थानीय वातावरण र जनजीवनमा प्रतिकूल असर नपर्ने गरी खानीजन्य, नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुंगा तथा ढुंगाजन्य अन्य उत्पादनहरू ।
प्रतिक्रिया