काठमाडौँ । समुद्री सतहबाट ८ हजार मीटरभन्दा अग्ला नेपालका थप ६ ओटा हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन सरोकारवाला निकायले पहल गर्ने भएका छन् । त्यसका लागि अहिले पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले थप ६ ओटा हिमालको कागजात तथा आवश्यक प्रक्रिया पुर्याउन गृहकार्य शुरू गरेका छन् ।
हाल ८ हजार मीटरभन्दा अग्ला १४ ओटा अन्तरराष्ट्रिय मान्यताप्राप्त हिमालमध्ये आठओटा नेपालमै छन् । थप ६ ओटाले पनि अन्तरराष्ट्रिय मान्यता पाएमा नेपालमै १४ ओटा यस्ता हिमाल हुनेछन् । यसले पर्यटन प्रवर्द्धनमा थप सहयोग गर्ने सरोकारवालाहरू बताउँछन् ।
पर्यटन विभागले आगामी अक्टोबरमा काठमाडौंमा हुने तय भएको अन्तरराष्ट्रिय पर्वतारोहण सञ्जाल मानिने इन्टरनेशनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेशन (यूआईएए)को साधारणसभामा नेपालको दाबीलाई अन्तरराष्ट्रिय मान्यताका लागि प्रस्ताव गर्ने तयारी गरिएको जानकारी दिएको छ । सरकारले ती हिमालको पहिचान गरे पनि हालसम्म अन्तरराष्ट्रिय मान्यता पाएका छैनन् ।
विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सरकारले हालसम्म ८ ओटालाई मात्र ८ हजार मीटरभन्दा अग्ला हिमालका रूपमा औपचारिक मान्यता दिएको र थप ६ ओटालाई पनि दिन अध्ययन शुरू भएको जानकारी दिए । ‘सरकारले नै तयार पारेको नेपाल पिक प्रोफाइलमा नेपालमा ८ हजार मीटरभन्दा अग्ला १४ ओटा हिमाल समावेश गरिएका छन्,’ उनले भने ।
उनका अनुसार थप ६ ओटा हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल शुरू भएको र यसको विस्तृत काम नेपाल पर्वतारोहण संघले गरिरहेको छ ।
संसारभरका हिमालहरूको अनुगमन तथा नियम बनाउनेदेखि पर्वतारोहण उपकरणका साथै पर्वतारोहणका लागि मापदण्ड तोक्नेजस्ता काम गर्दै आएको उक्त संस्थाले नेपालका आठओटा हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेको भनी मान्यता दिएको छ । नेपाल पर्वतारोहण संघका अनुसार थप ६ ओटा हिमालमा यालुङ खाङ, कञ्चनजंगा सेन्ट्रल, कञ्चनजंगा साउथ, ल्होत्से मिडल, ल्होत्से सर र यालुङ खाङ वेस्ट हिमाल पर्छन् ।
थप ६ ओटा हिमालको पहिचान र त्यसलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन अहिले डकुमेन्टेशनको काम भइरहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाले जानकारी दिए । नेपाल सरकारले नेपालमा ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल रहेको पुष्टि गरिसकेको छ । ती हिमाल आरोहणका लागि सरकारले अनुमति (परमिट) पनि जारी गर्दै आएको छ ।
‘तर, अन्तरराष्ट्रिय समूह तथा समुदायले भने नेपालका ८ ओटा हिमाललाई मात्रै चिन्छन्,’ अध्यक्ष शेर्पाले भने । ‘८ हजार मीटरभन्दा अग्ला नेपालका १४ ओटै हिमालले अन्तरराष्ट्रिय मान्यता पाएमा संसारमा यस्ता हिमालको संख्या २० पुग्ने र त्यसमा नेपालका मात्रै १४ ओटा हुने शेर्पा बताउँछन् ।
प्रतिक्रिया