परम्परागत निर्वाहमुखी खेतीबाट माथि उठ्दै नेपाली किसानहरू उच्च मूल्य पाइने नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्। यसैक्रममा ‘औषधिको राजा’ उपनामले चिनिने दुर्लभ जडीबुटी 'कालो बेसार' को व्यावसायिक खेतीमार्फत कृषक सोनु भोटेले नेपालको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेकी छिन्।
पहेँलो बेसारभन्दा कैयौं गुणा बढी औषधीय गुण बोकेको र अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको कालो बेसारको खेतीमा सोनुले उदाहरणीय सफलता हासिल गरेकी हुन्।
केही वर्षअघि सानो स्तरबाट खेती सुरु गरेकी सोनुले अहिले यसलाई व्यावसायिक रूप दिएकी छिन्। उनले हाल काँचो कालो बेसार प्रतिकिलो रु. १,५०० र यसलाई सुकाएर तयार पारिएको धुलो (पाउडर) प्रतिकिलो रु. ३,००० मा बिक्री गर्दै आएकी छिन्।
आफ्नो अनुभव सुनाउँदै सोनु भन्छिन्, "सुरुमा बजार पाउन निकै गाह्रो थियो। तर जब हामीले यसको फाइदाबारे मानिसहरूलाई बुझाउन थाल्यौं र आयुर्वेदिक कम्पनीहरूसँग समन्वय गर्यौं, माग ह्वात्तै बढ्यो। अहिले त उत्पादनको अग्रिम बुकिङ नै हुने गरेको छ।"
"घरमा सुनको हात्ती भए पनि बजार त लैजानुपर्छ"
आफ्नो उत्पादनको बजारीकरण आफैँले गर्नुपर्नेमा सोनुको विशेष जोड छ। सामाजिक सञ्जालमार्फत बजारीकरण गर्दा धेरैले आलोचना गरे पनि उनले हरेस खाइनन्।
"सामाजिक संजालमा कमेन्ट गर्दा धेरैले गाली गर्छन्, थोरैले मात्र यसको महत्व बुझेर किन्छन्," सोनु भन्छिन्, "हामीले आफ्नो उत्पादनको प्रचार गर्दा अरुलाई किन टाउको दुख्छ खै? हाम्रा किसानहरूको बारीमा धेरै चिज खेर गइरहेको हुन्छ, तर घरमा सुनको हात्ती नै छ भने पनि बेच्न त बजार लैजानुपर्छ। किसान भएपछि आफ्नो उत्पादनको बजार आफैँले पनि खोज्नुपर्छ।"
भोटखोला क्षेत्रमा उत्पादन हुने अन्य विषादीरहित उत्पादनहरू पनि उनले बजारमा ल्याउने गरेकी छिन्।
किन भनिन्छ 'औषधिको राजा' ?
कालो बेसारमा सामान्य बेसारको तुलनामा 'कर्क्युमिन' नामक तत्व अत्यधिक मात्रामा पाइन्छ। यो शक्तिशाली एन्टिअक्सिडेन्ट र एन्टि-इन्फ्लेमेटरी गुणले भरिपूर्ण हुन्छ। क्यान्सर प्रतिरोधी क्षमता, श्वासप्रश्वास समस्या, पाचन प्रणाली सुधार, माइग्रेन तथा छाला सम्बन्धी रोगहरूमा यो अचूक औषधि मानिने भएकाले यसको माग विश्वव्यापी रूपमा बढ्दो छ।
नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रको हावापानी कालो बेसारका लागि अत्यन्त उपयुक्त मानिन्छ। युरोप, अमेरिका र जापानजस्ता विकसित मुलुकहरूमा औषधि, सप्लिमेन्ट र कस्मेटिक्समा यसको प्रयोग हुने गरेको छ।
सोनु भोटे जस्ता किसानहरूको सफलताले कालो बेसार नेपालको अर्थतन्त्रका लागि 'गेम चेन्जर' साबित हुन सक्ने देखाएको छ। यदि गुणस्तरमा ध्यान दिई प्रशोधन र प्याकेजिङ गर्न सकिएमा कालो बेसारले नेपालको निर्यात व्यापारमा ठूलो हिस्सा ओगट्न सक्ने विज्ञहरूको भनाइ छ। यसका लागि सरकारले नीतिगत सहयोग र किसानलाई आधुनिक तालिम दिनु आवश्यक देखिन्छ। स्रोत ः कृषि सुचना
प्रतिक्रिया