Monday, April 20, 2026

Font Size:

logo
7 Months ago September 23, 2025 Visted:60

अलैँचीको मूल्य आठ हजार घट्यो


img

ताप्लेजुङ, असोज ७ गते। भदौयता बजारमा आउन थालेको अलैँचीको मूल्य एक महिनापछि आठ हजार रुपियाँले घटेको छ।अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य मन (४० किलोग्राम) मा आठ रुपियाँले घटेको हो ।

मूल्य घटेसँगै अहिले अलैँची प्रतिमन ८० हजार रुपियाँमा कारोबार भइरहेको छ।ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष भद्रबीर रेग्मीका अनुसार पछिल्लो केही दिनदेखि अलैँचीको मूल्यमा गिरावट आएको छ।फुङ्लिङ बजारका स्थानीय व्यापारीसमेत रहनुभएका अध्यक्ष रेग्मीका अनुसार नयाँ उत्पादन बजार आउन थालेसँगै प्रतिमन ८८ हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य घटेर ८० हजार रुपियाँमा आइपुगेको हो ।

यता अलैँचीको मूल्य घट्नुको कारण भने थाहा नभएको व्यवसायीहरु बताउँछन्।विगतमा पनि दसैँ तिहारजस्ता चाडपर्वको समयमा अलैँचीको घट्ने गरेको अनुभव रहेको व्यवसायीको भनाइ छ ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने हुँदा अहिले अन्तर्राष्ट्रिय बजारबाट नै मूल्य घटेर आएको बताइएको छ।अलैँचीको अन्तर्राष्ट्रिय बजार मूल्यकै असर परहेको हुनसक्ने स्थानीय व्यवसायी बताउँछन्।पछिल्लो केही दिन यतादेखि अलैँचीको मूल्य निरन्तर घट्दै गएको फुङ्लिङ बजारका स्थानीय व्यापारी कमल बरालले जानकारी दिनुभयो।उहाँका अनुसार सुरुको मूल्यमा दुई हजार, तीन हजारले घट्दै–घट्दै अहिले अलैँचीको मूल्यमा आठ हजार रुपियाँ घटिसकेको छ ।

यसवर्ष नयाँ अलैँची बजारमा निस्किन थाल्दा नै प्रतिमन ८८ हजार रुपियाँमा कारोबार भएपछि किसान तथा व्यवसायी भने निकै उत्साहित भएका थिए।गत वर्षभन्दा यो वर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढीमा अलैँचीको कारोबार हुँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका थिए।गतवर्ष नयाँ अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा कारोबार भएको थियो।यसवर्ष सुरुमै आकर्षक मूल्य अर्थात मनको ८८ हजार रुपियाँमा कारोबार भएको थियो ।

यता अलैँची बजारमा निस्कन थालेको महिना दिन बित्दै गर्दा आठ हजारले मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।अलैँचीको मूल्य अस्वाभाविक रुपले घट्ने र बढ्नेभन्दा पनि स्थिर मूल्य कायम रहोस् भन्न स्थानीय किसान तथा व्यवसायीको अपेक्षा रहेको छ।स्थिर मूल्यले मात्र किसान तथा व्यवसायीलाई अलैँची कारोबारमा ढुक्क हुने अवस्था बन्ने उनीहरुको भनाइ छ ।

ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची उत्पादन हुने मुख्य सिजन (मौसम) भने असोजपछि बल्ल सुरु भएको छ।अलैँचीको मूल्य सुरुमै घट्न थालेकाले मूख्य सिजनमा अझ घट्दैजाला कि भन्ने पिरलो रहेको किसान तथा व्यवसायी बताउँछन्।उनीहरुले स्थिर बजारका लागि सम्बन्धित सबै पक्षले पहल गर्न जरुर रहेको पनि बताउने गरेका छन् ।

ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती यहाँका नौ स्थानीय तह र ६१ वटामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै क्षेत्रमा हुने गरेको छ।कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ।उक्त खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो।

Share:

प्रतिक्रिया