Sunday, September 13, 2026

Font Size:

logo
1 years ago May 07, 2025 Visted:307

नेपाल हिमवत्खण्डको केन्द्र स्थल


img

नेपाल हिमवत्खण्डको केन्द्र स्थल हो । नेपाल सभ्यता र ज्ञानको पवित्र भूमि हो । यो विश्वमा मानव सभ्यताको आदिभूमि हो । ज्ञानोदयको आदिभूमि हो । यसै हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्य ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो । हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलत्स्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास जस्ता महान् कविहरूको जन्म भयो । यहीं नै ने मुनि नामका ऋषि र किराँतहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतम बुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रशारित भयो ।

प्राचीन नेपाल अहिलेभन्दा ठूलो थियो । विक्रमादित्यका छोरा समद्र गुप्तको प्रयागस्थित अभिलेखमा कामरुप (आसाम) र कर्कपुर (कुमाउ र गडवाल क्षेत्रबीचको देशलाई ‘नेपाल’ भनी वर्णन गरिएको छ । हिमवत्खण्डको यो विशाल यज्ञभूमि, तपोभूमि, ज्ञानभूमिमा कैयौँ ऋषि-महर्षिहरूले ज्ञानको आविष्कार गरेका थिए । उनीहरूले नै अनेक धर्मशास्त्र, नीतिशास्त्र, राज्य शासनका विधिविधान सिर्जना गरेर हिमवत्खण्डलाई युगयुगसम्म सङ्गठित गराउने थिति बसाले । हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल जति विविधतापूर्ण र विशाल छ, त्यत्तिकै यसको गहनता र महत्ता पनि व्यापक र विशाल छ । यस भूखण्डका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्य विशिष्ट छन् । पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिको पवित्र तपोभूमि भन्ने बुझिन्छ । हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित हिमालय श्रृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डवारे प्राचीनकालदेखि नै विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् । वेदव्यासद्वारा रचित अठार पुराणहरूमध्ये प्रमुख स्कन्द पुराण पनि हो । यसअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्द पुराणको यसै खण्डमा वर्णन गरिएअनुसार हिमालय पालित सिन्ध प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।

Share:

प्रतिक्रिया