जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सव चिलरहेको छ । वैशाख १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा सिंजा महोत्सव २०८२ सञ्चालन गरिने सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना भएको हो । यस महोत्सवले सिंजाको भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवर्धन गर्ने लक्ष्य लिएको छ । खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार,जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ ।
कर्णाली राजमार्गको पछिपछि लागेर कालिकोटको सदरमुकाम मान्माबाट अघिलागेपछि नाग्म बजार पुगिन्छ । नाग्म बजारमा हिमा र तिला नदीको संगम भेटिन्छ । हिमा नदीको फेर समाउँदै जाँदा पुगिने ठाउँ हो सिञ्जा उपत्यका । नेपाली भाषा र संस्कृतिको उद्गमस्थल सिञ्जा उपत्यका जुम्ला खस राजाहरुको ग्रिष्मकालीन राजधानी थियो । खस राज्य अन्तर्गतका बाइसे चौबिसे राज्य हुँदा पनि भुरे टाकुरे राज्यहरुले जुम्लालाई सिर्तो बुझाउने चलन थियो । यसको मतलब मध्यकालमा पनि जुम्ला शक्तिशाली राज्य थियो । राज्य सञ्चालनका लागि जनताबाट कर उठाउने चलन पनि सबैभन्दा पहिले खस राजाहरुले सिञ्जाबाटै सुरु गरेका थिए ।
हुन त जुम्लाको सिञ्जा नेपाली भाषा मात्र होइन । थर मात्र होइन । सभ्यता मात्र पनि होइन यो संस्कृतिको पनि जन्मभूमि हो । अनेकौं लोकसंस्कृतिको भण्डार हो । पौराणिक कथाअनुसार यो भूमि देवभूमि मानिन्छ । हिमा नदी र तिला नदीले दुईतिरबाट घम्लङ्ग अँगालो हालेर जुम्ला र सिञ्जा उपत्यकालाई बस्नयोग्य बनाउने काममा ठुलो गुन लगाएका छन् ।
कर्णाली क्षेत्र पौराणिक रूपले अत्यन्तै महत्व राख्ने क्षेत्रको रूपमा हामी पाउँछौँ । सिञ्जा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक कालका सप्रमाण हुन् । जतातै पौराणिक कालका अवशेष देख्न पाइने सिञ्जा उपत्यकाको गहिरो उत्खनन् गर्न आवश्यक छ । चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहनु चानचुने कुरा थिएन ।
राहुल सांस्कृत्यायन (सांस्कृत्यायन, मध्य एसियाका इतिहास,२०१३पाना १० )ले मध्य एसियाको इतिहासमा पश्चिम चीनको सिन्च्याङ, ताक्लामकान उपत्यकालाई खसहरुको मूल थलो ठहराएका छन् । ताक्लामकान उपत्यकाको नैऋत्य–दक्षिण पश्चिम) कोणमा आजको तिब्बत पर्छ । भोरोपेली भाषा परिवारको तोखारी भाषा पनि त्यही ठाउँमा बोलिन्थ्यो ।
भौगोलिक नक्सामा पनि पश्चिम तिब्बतसितै खसहरुको बाहुल्य भएका पश्चिम नेपालको कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, भारतका (कुमाउ र गढवाल ) हिमाचल प्रदेश, भारत र पाकिस्तानका जम्मु काश्मीर, अफगानिस्तान, हिन्दूकुश पहाड, ताजिकिस्तान,कजाकस्तान जोडिएका छन् । कश्यप अर्थात् क्यास्पियन सागरको सेरोफेरोदेखि पूर्व ककेसस् पहाड लगायतका सबै ठाउँमा बसोबास गर्ने खस र शकहरुसँग काटिकुटी अनुहार मिल्दोजुल्दो छ ।
आधारभूत रुपमा खसहरु प्रागितिहासमा मध्य एसियाको तोखारी, शक, र संस्कृत भाषासँग नजिकको साइनो लाग्ने आर्य परिवारकै मातृभाषा बोल्थे । आप्रवासका कारण खस जाति क्रमशः सर्दै पश्चिम तिब्बत, अफगानिस्तान, पाकिस्तान, काश्मीर, गढवाल, कुमाउ र नेपालको कर्णाली क्षेत्रमा आइपुग्यो । त्यसमा भारतीय आर्य भाषाको प्रभाव पर्दै गयो । भारतीय उपमहाद्धिपका सिन्धु, गंगा र ब्रह्मापुत्र नदीका बेंसी र मैदानी भागको न्यानो हावापानी र अनुकूल भौगोलिकतामा जुन जाति छि¥यो त्यो फेरि फर्केर बाहिर गएन । हावापानी र कृषिका लागि पनि धर्तीको सबैभन्दा उत्तम स्थान अरु कुनै छ भने सिन्धु, गंगा र ब्रह्मपुत्रको बेंसी नै हो । प्रागइतिहास कालीन समयमा यो मैदानी भूभागमा जति पसे,सबै बसे । सबैले आआफ्नो संस्कृति रचे । लगभग पाँचौँ शताब्दीदेखि खसआर्य मूलका मानिसहरू कुमाउबाट पश्चिम नेपाल प्रवेश गर्न थालेको अनुमान रहेछ । बाह्रौँ शताब्दीमा खस साम्राज्य स्थापना हुनुभन्दा पहिले नै कर्णाली प्रदेशमा खसहरूको बसोबास कयम भइसकेको बुझिन्छ ।
कैलास मानसरोवर क्षेत्रमा (सातौं शताब्दी) तिब्बतको प्रभाव पर्नुभन्दा अगाडिसम्म बोन धर्म मान्ने चलन थियो । बोन धर्म मान्नेहरुले सूर्यको प्रतीक स्वरुप स्वस्तिकको पूजा गर्थे । त्यहीँ भएर मध्य एसिया, भारत लगायत नेपालका अनेक ठाउँमा सूर्यका मूर्तिहरु पाइएका छन् । कालान्तरमा मङ्गोल र तुर्कहरुको शक्ति विस्तार हुँदा कुषाण अर्थात् खस (आर्य भाषा बोल्ने (बोन) हरु ताक्लामस्थानबाट विस्थापित भएर ताक्लामकान हुँदै, अफगानिस्तान र तोखारीस्तान बाटै मानसरोवर क्षेत्रमा प्रवेश गरेका थिए । खस र शकहरुको निरन्तर आक्रमणले गर्दा नै चिनियाँ सम्राटले चीनको विशाल ग्रेटवाल निर्माण गर्न बाध्य हुनुपरेको थियो । राहुल सांस्कृत्यायन (सांस्कृत्यायन, हिमाल परिचयम १ गढवाल पाना ५५ मा)
प्रागइतिहासमा खसहरुले चीनको सिन्च्याङमा रेसम मार्ग, नेपालको कर्णाली प्रदेश र ताक्लाकोट कब्जा गरेर खसहरुले मानसरोवर क्षेत्रमा बुकी सुन ( पिपीलिका सुवर्ण ) उत्पादनमा कब्जा गरेको अड्कल गरिन्छ ।
सातौं शताब्दीका चिनियाँ यात्री स्वेनचाङले पनि त्यसै भेग (गोविषाण) मेरु मा खसहरुको बसोबास रहेको उल्लेख गरेका छन् । उनीहरु ताक्लामकान उपत्यकाबाट खुनलुन पर्वतमालाको भञ्ज्याङ काट्दै बिकट पहाडी बाटो भएर मानसरोवर क्षेत्र आएका थिए ।
पुराणहरुमा खसहरु (कैलास पर्वत) मेरु र मन्दर पहाडको बिचमा बस्ने जाति भनेर उल्लेख गरिएको छ । स्नेल्ग्रोभले चाङचुङ अर्थात् कैलास मानसरोवर क्षेत्रमा दशौं शताब्दीसम्म बोन धर्म मान्ने शक, कुषाण र तोखारहरु नै बसोबास गर्थे । चाङचुङ कैलास मानसरोवर क्षेत्रको विशाल (ताक्लामकान उपत्यका) भूभागलाई नै राहुल सांस्कृत्यायन (सांस्कृत्यायन, मभ्य एसियाका इतिहास) ले खसहरुको मूल थलो घोषित गरेका छन् ।
११औं शताब्दीमा खसहरुले कर्णालीको सिँजा उपत्यकालाई राजधानी बनाएर शक्तिशाली साम्राज्य स्थापना गरेका थिए । खस साम्राज्यका संस्थापक राजा नागराज थिए । तर नागराजभन्दा अगाडि नै यहाँ खसहरुका ससाना राज्य बसिसकेका थिए । ११औं शताब्दीपछि भने खस राज्य, खस साम्राज्य, खस मण्डल आदि नामले प्रसिद्ध भयो । खस साम्राज्यको सिमाना पूर्वमा त्रिशूली नदी, पश्चिममा सिन्धु नदी तथा चिनाव नदी,दक्षिणमा गंगा र गण्डकी नदीको संगम र उत्तरमा तिब्बतको गुगे, पुराङ र मरियुल हुँदै ताक्लाकोटसम्म फैलिएको थियो । खसहरुले नेपालमा शासन गर्नुपूर्व पाल वंशका राजाले शासन गरेको तथ्य इतिहासकारहरुले उल्लेख गरेका छन् ।
खसहरु १२औं शताब्दीतिर मानसरोवर क्षेत्रबाट जुम्ला सिँजा र दुल्लुमा आएर राज्य गरेको प्रमाणचाहिँ सबैभन्दा पहिले इटालीका पुरातत्वविद् ज्युसेप्पे टुची सन् १९५६, १९६२ र योगी नरहरिनाथ (२०१३)ले फेला पारेका हुन् ।
जुम्लाका खस राजाहरु पश्चिम तिब्बतको मानसरोवर क्षेत्रदेखि भारतको ठुलो भूभागमा शासने गर्थे । तर उनीहरुले ग्रीष्मकालीन राजधानी सिँजालाई र शीतकालीन राजधानी दुल्लुलाई बनाएका थिए । ती राजाहरु मध्ये १३औं शताब्दीका क्राचल्ल र अशोक चल्लका अभिलेखहरु कुमाउ गोपेश्वरको त्रिशूलमा र गयाको स्तम्भ लेखमा पाइने हुनाले र अशोक चल्लले आफूलाई सपाद लक्ष्य प्रदेश (सबा लाख पर्वतले घेरिएको प्रदेश अर्थात् कुमाउ), खस देश नरेश (खस देशका राजा) र दानव देशका राजा –कुमाउको चम्पावत जिल्लाको दानपुर) भनेर चिनाएकाले अशोक चल्लले राज्य गरेको भौगोलिक सिमाना निकै फराकिलो रहेछ भन्ने अड्कल गर्न सकिन्छ । उनको समयमा खारी प्रदेश अर्थात् कैलाश मानसरोवर क्षेत्र र केदारखण्ड अर्थात केदारनाथ, बद्रीनाथ लगायतका तीर्थहरु रहेको क्षेत्रसम्म खस राज्यको अधिकार स्थिापित भएको थियो ।
चौधौं शताब्दीमा खस राजा आदित्य मल्ल (१३२७ ई) ले काठमाडौं उपत्यका जितेको कुरा गोपाल राजवंशावलीमा उल्लेख गरिएको छ । (वज्राचार्य २०२२), तर चौधौं शताब्दीपछि खस राज्य टुक्रियो । खस मण्डलका अन्तिम राजा अभय मल्ल थिए । खस राज्य टुक्रेपछि बनेका बाइसी र चौबिसी राज्यहरुमा जुम्लाकै रजौटाहरुले राज्य गर्न थाले । चौंतिस वटा बाइसी र चौबिसी राज्यका अत्रि र आत्रेय गोत्रका शासकहरु मलय बर्मा (१४४६)कै सन्तान थिए । (सुवेदी, २०५५) पृथ्वीनारायण शाहले धेरैजसो मलय बर्माकै सन्तानहरुलाई नेपाल एकीकरणमा जितेको पाइन्छ ।
पुराना शासक र तिनीहरुले बोकेर ल्याएका सांस्कृतिक सम्पदाका पत्रपत्र यसरी हिमालयका काखमा थुप्रिदै गए । खसहरु पनि हिमालयका फेदका विकट पहाडी प्रदेशमा शरण लिन बाध्य भए । कौलास मानसरोवर क्षेत्रको बुकी सुन खसहरुको आकर्षण शक्ति र त्यो क्षेत्र ओगट्ने राजनीतिक आधार बन्यो ।
त्यसैले कर्णाली नदी किनारका हिमाली भेगमा मानव सभ्यताका पत्रपत्र भेटिन सक्ने आधारहरु थुप्रै हुन सक्छन् । यसको सूक्ष्म अध्ययन र अन्वेषण हुनु आवश्यक छ । शब्दले जति सुन्दरताको ब्याख्या गरे पनि अपूर्ण नै हुन्छ सिञ्जा कर्णाली । जति हेरे पनि आँखा थाक्दैनन् । जति रमाउँदा पनि मन अघाउँदैन, जति समय खर्चिएर घुमे पनि कर्णाली क्षेत्र घुमाइ अधुरै हुन्छ । नेपालको स्वर्ग नै हो सिञ्जा कर्णाली । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ भन्ने कुरा कर्णाली क्षेत्र पुगेपछि बल्ल थाहा पाइन्छ ।
प्रतिक्रिया