Tuesday, July 28, 2026

Font Size:

logo
2 Years ago January 18, 2025 Visted:222

सुदूरको स्वर्ग अपी बेस क्याम्प


पुष्पराज भट्टराई  
नम्पा हिमाल अपीको नजिकको साथी । यसलाई काइयाकोर हिमाल भन्छन् स्थानीयले । यसो भन्नुको पनि रोचक कारण रहेछ  । हेर्दा पनि तेल लगाएर काइँयोले कोरेजस्तै देखिन्छ चिटिक्क देख्न सकिन्छ यसलाई । अतुलनीय सुन्दरता । सायद अपी हिमाल पुग्दा सबैलाई यस्तै लाग्ला । सुदूर पश्चिमको सुन्दरता शब्दले वर्णन गर्न सकिदैन । त्यसमा पनि दार्चुलाको हिमाली गन्तव्य अपी संरक्षण क्षेत्रको यात्रा । अपी बेस क्याम्पको विशाल फाँटमा हेर्न र घुम्नलायक अनेकौं स्थान छन् । 
जाने होइन त अपी बेस क्याम्प घुम्न । कैलालीको अत्तरीयाबाट महाकाली राजमार्गले दार्चुलाको दोस्रो ठुलो व्यापारिक केन्द्र गोकुलेश्वरमा खुत्रुक्क ओरालिदिन्छ । गोकुलेश्वरबाट एक दिनको आधा ६ घण्टामा अपी बेस क्याम्पको यात्रा गरेपछि गाडीले मकरीगाड बजार पु¥याउँछ । मकरीगाड बजारले एक रातको बास बसाएपछि भोलिपल्ट झुल्के घामलाई पछ्यााउँदै बाटो लाग्दा घाम नडुब्दै सित्ती गाउँ पुगिन्छ । यहाँ बस्नलाई होटल र होमस्टेको दुवै सुविधा छ । होमस्टेमा पहिलो बास बसेर भोलिपल्ट पातिलिदै गरेको वस्ती छाडेर पर पुगेपछि पेरिस डाँडा भेटिन्छ । माथि पहाडमा कुहिरो कुदेर आकाश छुन खोजेजस्तो । तल चमेलियाको सुसाइ । 

किंवदन्तीले भरिएका गाउँका कथाहरु सुन्दै एकनासे ओरालो बाटो खायकोटसम्म । खायोमा ढुङ्गाले छापिएका प्राकृतिक घरहरुको छानाबाट निस्किएको धुवा पनि सफा सफा लाग्ने ।  यो अन्तिम गाउँभन्दा माथि छिरछिरेमा होटलहरुको व्यवस्था रहेछ । हामीले त्यहीँ खाना खायौँ । हिमालतिरको पैदलयात्रा हतार गर्नुभन्दा बिस्तारै जाँदा सजिलो हुने । पदयात्राको आफ्नै नियम हुँदो रहेछ । भरपर्दो साथी लौरोसँगै हिँडदा गन्तव्यमा पुग्न निकै सजिलो हुने । 

चमेलियाको फेर समाउँदै कहिले वारि कहिले पारि कहिले गोरेटो हामीलाई बाटो देखाउँछ कहिले हामी गोरेटोलाई बाटो देखाउँदै यात्रा निरन्तर बेसक्याम्पतिर लाग्दा बाटोमा डालेचुकको स्वाद चाख्न पाइने रहेछ । औषधीय गुण भएको यो फल निकै स्वादिलो । रोखापु हिमालबाट आएको रोखापु र अपी हिमालबाट आएको चमेलियाको जम्काभेट रोखापुमा हुँदोरहेछ । दोभानमा मन्दिर छ । तल सित्ती गाउँका पुजारीले नियमित पूजा गर्ने यो स्थान निकै पवित्रस्थल रहेछ । 
आज यात्राको तेस्रो दिन । अब दोमुल तरेर चमेलियाको फेर समाउँदै देबे्र लागेको बाटोबाट केही समयपछि अपीको पहिलो दर्शन हुन्छ । टनका टन हिउँ बोकेर बसेको अपीको फराकिलो छाती । अपी देखेपछि नयाँ जोस थपियो शरीरमा । तर नाक ठोक्किने उकालोमा लौरो साथी बन्यो । घामले समय देखाउने, लौरोले बाटो देखाउने ।  
भल्ले खोला भन्ने स्थानबाट अपीलाई बास बस्न लागेको देख्न सकिन्छ । अब एक घण्टा जति बाटो नापेपछि धौली ओढार पुगिन्छ । खानबस्नको लागि सुविधा रहेछ । साँझ खुत्रुक्क चमेलीयाको खोँचमा ओर्लिएपछि सुनौलो रात ओढेर सुतेको अपी भोलिपल्ट चिसो भएर उठेको रहेछ । हातले खुट्टा छुँदा तिमी को हौ ? भन्लाजस्तो । एउटै शरीरका दुई अंग पनि एकअर्कामा अपरिचित लाग्ने ।  
हिमालको विशेषता भन्नु नै सबैभन्दा अग्लोले बिहान छिट्टै घाम ताप्न पाउँछ । अपीले झुल्केघाम ताप्न थाल्यो र रङ बदल्यो । सुनौलो अपी सेतो भयो । अपीका दृश्यहरु बदलिँदै आए । घाम पनि पहाडलाई सेकाउँदै तलतिर न्यानो हँुदा मात्रै भेटिने खोँचमा झ¥यो ।  
धौली ओढारमा बास बसेर बेस क्याम्पतर्फ उक्लिनेहरु सबै अब साथी बने । कोही घोडामा त कोही पैदल अघि बढ्न थाले । अपी नजिकिदै गएपछि वनजंगल बिराना हुन थाले । चौर र बुकीफूल मात्रै छन् वरपर । हिमाल र पहाडका तहतहले छेक्दै र देखिदै गर्छ अपी । 
खोला तरेर बेस क्याम्पतिरको अन्तिम उकालो कटेपछि बेसक्याम्प पुग्नासाथ पूर्वका हिमाल छेडेर चौथो दिनको सूर्योदय भयो । अपी बेसक्याम्प मैले सोचेभन्दा धेरै फरक रहेछ । यहाँ त ठुलो मैदान रहेछ । घुम्नलाई जताततै खुल्ला मैदान । बीच भागबाट नागबेली आकारमा बटारिदै चमेलिया बगेको छ । दाहिनेतिर हिमनदीसँगै छिर्ने बाटो रहेछ नाम्पा बेसक्याम्प जाने । देब्रेतिर चमेलिया मैदानमा सानो रुपमा बहन्छ । 
हामी चमेलियासँगै उत्तरतिर लाग्छौँ । अपीको चेपबाट भुलभुल गरी निस्किने पानी नै चमेलियाको उद्गमस्थल रहेछ । बेसक्याम्पमा दुईवटा खान र बस्न मिल्ने होटल छन् । बेसक्याम्पबाट वरिपरि चारैतिर आँखा अघाउन्जेल हिमाल हेर्न सकिने रहेछ । 
एउटा भर्जिन हिमालको सुन्दरता नियाल्नुको मजा कतिकति । महादेवले कैलाशबाट आई तपस्या गरेर बसेको पवित्रस्थल । विशेष गरी काली ढुङ्गा ताल भएको क्षेत्र, चमेलियाको उद्गमस्थल, रिङ्देपानी ताल, भ्युपोइन्ट डाँडा चाहिँ कम्तिमा छुटाउन नहुने रहेछ यहाा पुगेपछि ।
भुइँफूलको गलैंचाजस्तो विशाल मैदान । दायाँबायाँ अपी र नम्पा हिमालको शिरानी । सुन्दरता पनि प्रकृतिले फुर्सदमा बनाएजस्तो । अपीको फरक सुन्दरता देख्न पाउँदा जो कोहीको मन रमाउँदो रहेछ । 
अपीको बेसक्याम्पको होटल कटेर अगाडि मैदान पुगेपछि नम्पा हिमाल देखिन्छ । नम्पा हिमालको काखमा पनि ठुलो मैदानी भाग छ । घुम्नलाई धेरै ठाउँ छन् । पैदल हिँड्न नसके पनि निश्चित शुल्क तिरेर घोडाबाट घुम्न सकिन्छ । 
यो नम्पालाई काइँयाकोर हिमाल भन्दा रहेछन् स्थानीयले । हेर्दा पनि तेल लगाएर काइँयोले कोरेजस्तै सुन्दर देखिने । बबई हिमालको काखमा कालिढुङ्गा ताल रहेको छ । स्थानीयको आस्था तालको गहिराईभन्दा धेरै रहेछ । त्यसको अर्कोपटि सेता हिमालको काखैमा रिङ्देपानीको ताल देख्न सकिन्छ । नेपालको झण्डाजस्तो आकारमा देखिने तालमा कहिल्यै पानी सुक्तैन रहेछ । 
बेस क्याम्पबाट अपी हिमाललाई सिधै ताकेर मैदानै मैदान आधा घण्टा अगाडि जाँदा चमेलियाको उद्गमस्थल पुगिन्छ । अब यहाँ अपीलाई हातले छुन सकिन्छ । महादेवको मन्दिरमा दर्शन गरी मनोकांक्षा पुरा गर्न सकिन्छ । भुलभुल गरेर (७,१३२ मिटरको उचाइ) अपीको काखबाट उम्रिएको पानी । जसलाई गंगाको मुहान भनिदो रहेछ । यो पवित्र जलमा स्नान गरी फर्किन पनि सकिन्छ । जोगे तालको कञ्चन पानी शिरमा छर्किएर नाम थाहा नभएका र भएका गरी झण्डै १ दर्जन हिमालको सुन्दर दृश्य आँखाभरि कैद गरेर चोखो मन लिएर फर्किन पाउँदा कसको मन नरमाउला ? 
अपीको काखैमा छ यार्साको बेला भेला हुने यार्सावाल ठिटाहरुले खेल्ने क्रिकेट मैदान । भलिबल खेलका पारखीलाई खोल्ने भलिबल मैदान । त्यो उचाइको अभ्यास ज्यादै रोचक लाग्ने । 
अपी क्षेत्र त्यसै पनि सुन्दर छ तर यसको सुन्दरतालाई पर्यटनसँग जोड्न यहाँका स्थानीय झन् धेरै खट्दा रहेछन् । ‘हरियाली मौसममा आए फूलको माला नभए हिउँ फूलको माला पहि¥याएर बिदाइ गर्नेछौँ ’ भन्दै होटलवालाले गरेको न्यानो आतिथ्यता र अपी बेस क्याम पुग्ने सरल यात्राको वर्णन निकै रमाइलो लाग्छ । फेरिफेरि अपी जाउँजाउँ लाग्ने । 
आहा ! अपी यो एउटा मुटुभित्रको मन कतिपटक जित्छौ अपी । कसैले स्वर्ग कहाँ छ ? भनेर प्रश्न गरे । स्वर्ग अपीको सुन्दरतामा छ म भन्छु । अपी पदमार्ग सहज भएको धेरै भएको रहेनछ । ४ वर्ष अघिसम्म कठिन यात्रा गरेर मात्रै पुगिने  अपी अब जान कठिन छैन । मन भए सधैं अपी पुग्न सकिने रहेछ । बाटोभरि खान बस्न मिल्ने ठाउँठाउँमा होटलको सुविधा छ । यात्राका लागि आधारभूत आवश्यकताका सामान मात्रै बोके पुग्छ ।
सबैभन्दा सुन्दर बेसक्याम्प अपी बेसक्याम्प । अपी हिमालको पर्यटकीय भविष्य साँच्चिकै उज्जवल देखिन्छ । यदि बिदामा घुम्न जाने सोच भए अपी बेसक्याम्प गए पुग्छ । 
 

Share:

प्रतिक्रिया