आधारभूत गणितीय रुपमा भन्दा पनि मान्यतागत हिसाबमा पर्यटनलाई विविध प्रकारले वर्गीकरण गरी यसका विभिन्न विधाहरुलाई परिभाषित गर्ने गरिएको पाइन्छ । तिनीहरु मध्ये पर्यापर्यटन, साहसीक पर्यटन, सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन, दिगो पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, व्यापारका सिलसिलामा हुने पर्यटन, दिगो पर्यटन, कृषि पर्यटन, यौन पर्यटन, खोज अनुसन्धानसँग सम्बन्धित पर्यटन, पँहुचयोग्य पर्यटन, वन तथा जंगल क्रियाकलापसँग सम्बन्धित पर्यटन, सभा सम्मेलन पर्यटन, शिक्षा सम्बन्धी पर्यटन, जल जन्य पर्यटनलगायत विकसित मान्यता र प्रविधिसँग सम्बन्धित अन्य कैयौं पर्यटनका प्रकारहरु हुने गर्दछन् र यी पर्यटनहरु आपसमा एक–अर्कासँग अन्तर सम्बन्धित र अन्योन्याश्रित समेत हुन सक्दछन् । यिनीहरुमध्ये पर्यापर्यटनलाई पर्यटनको एउटा महत्वपूर्ण अंश मान्न सकिन्छ ।
पर्यापर्यटनको अर्थ
पर्यापर्यटन दुई ओटा शब्दहरु पर्या र पर्यटन मिलेर बनेको हुन्छ । यी शब्दहरु मध्ये पहिलो शब्द पर्याको अर्थ पर्यावरण अर्थात जन्तु, वनस्पति वा यी दुवैको संयोजन अथवा यी जैविक तत्वहरुको अस्तीत्व तथा यस्ता जैविक तत्वहरुलाई उनीहरुकै मौलिक अवस्थामा रहन सहयोग गर्ने अन्य जैविक तत्व तथा अजैविक तत्वहरु यिनीहरुको विभिन्नता, प्रकार, तिनीहरुको जम्मा संख्या, तिनीहरुबीचको संयोजन तथा अन्तरसम्बन्ध सँग सम्बन्धित छ या भनौं प्रकृति र प्रकृतिमा रहेका प्राणी र वनस्पतिहरुकोे विविधता, संयोजन तथा अन्तरसम्बन्ध नै पर्यावरण हो भने अर्कोे दोस्रो शब्द पर्यटनको अर्थ आफ्नो बसोबास गरिरहेको स्थानभन्दा अन्यत्र स्वदेश वा विदेशमा कम्तीमा एक रातदेखि बढीमा एक वर्षसम्म कुनै काम विशेषले वा फुर्सदको समय व्यतित गर्ने गरी निश्चित हिसाबले रहनु वा बस्नु भन्ने अथ्र्याउँछ, पर्यटन शब्द घुमफिरसँग सम्बन्धित छ ।
यसरी उल्लेखित दुई शब्दहरुको संयोजन बाट पर्यापर्यटन शब्दले सामान्य अर्थमा प्रकृतिको काखमा प्राकृतिक तवरले प्रकृतिका जैविक तथा अजैविक तत्वहरुसँग सन्नीकट रहेर मौलिक हिसाबले गरिने घुमफीर तथा नवीन अनुभवहरुको समिश्रण भन्ने बुझिन्छ भने विकसित र बृहत मान्यतामा प्रकृतिका जैविक तथा अजैविक तत्वहरुलाई उनीहरुको मौलिक र प्राकृतिक अवस्थालाई कमभन्दा कम क्षति हुने गरी उनीहरुको उचित संरक्षण, संवर्धन र दिगो उपयोग गर्दै स्थानीय तथा सरोकारवालाहरुको आवश्यक हिसाबमा प्रतक्ष्य तथा परोक्ष प्रभावकारी सहभागितामा पर्यटनका बान्छित गतिविधिहरु सञ्चालन गर्ने तथा यस प्रकारको पर्यटनका कृयाकलापहरुबाट प्राप्त विविध तवरको लाभको समुचित बाँडफाँटमा स्थानीय तथा सम्बन्धित सरोकारवालाहरुलाई नै प्राकृतिक न्याय तथा सामाजिक न्याय र समानताको मान्यता अनुरुप आवश्यकता अनुसार अग्राधिकार प्रदान गर्दैै सार्थक र अर्थपूर्ण सहभागितासहितको समतामूलक समाजको निर्माण र प्रकृतिको दिगो संरक्षण तथा सदुपयोग दुवैमा उत्तरदायी र सहयोगी रहने पर्यटन गतिविधिहरुको समग्रतालाई बुझिन्छ ।
पर्यापर्यटनको उत्पति
सर्वप्रथम पर्यापर्यटन शब्दको प्रयोग मेक्सीकन आर्किटेक्ट इन्जिनियर तथा संरक्षणवादी अभियान्ता ल्यास्कुरेनले सन् १९८३ मा गरेका थिए भने पर्यापर्यटन शब्दलाई प्रथमतः ल्यास्कुरेनको अर्थ भन्दा परिस्कृत र विकसित स्वरुपमा परिभाषित गरी संस्थागत उपयोग आई. यु. सी.एन. (विश्व संरक्षण संगठन) ले सन् १९९६ मा गरेको देखिन्छ । पर्यापर्यटनका केहीआधारभूत मान्यता र सिद्धान्तहरु रहन्छन् ।
यसका केही खास चरित्रमा सामाजिक, भौतिक, मनोवैज्ञानिक स्वरुपमा सकेसम्म न्यून नकारात्मक असर पर्ने गरी पर्यटकीय गतिविधिहरु सञ्चालन गर्नु, स्थानीय, सरोकारवाला तथा पर्यटकहरुमा आवश्यक मात्रामा वातावरणीय, सामाजिक तथा सांस्कृतिक चेतना र शिक्षाको विकार र विस्तार गर्नु, पर्यटकहरुलाई सकारात्मक र गहन मौलिक–प्राकृतिक अनुभव प्रदान गर्नु तथा गराउनु, प्रकृति र पर्यावरणको संरक्षणका निम्ति आवश्यक स्रोत पहिचान, संकलन र सदुपयोग गरी प्रकृतिको दिगो उपयोगलाई प्रवद्र्धन गर्नु, स्थानीय बासिन्दा, सरोकारवाला तथा लगानीकर्ताहरुलाई न्यायोचित र सार्थक आर्थिक लाभ प्राप्त गराउनु, विकसित जलवायु परिवर्तन तथा विश्वव्यापी उष्णताबाट अनुकुलित रहने खालका संरचना निर्माण गर्नुका साथै सोही बमोजिमका पर्यटन मूलक क्रियाकलापहरु संचालन गर्नु, पर्यटन गतिविधिहरुका निम्ति तयार गरिने पुर्वाधार निर्माणमा न्यून प्राकृतिक क्षति र अधिक संरक्षण हुनेगरी व्यवस्थापन गर्नूका साथै प्रकृति मैत्री तवरले संञ्चालन तथा उपयोग गर्नु, गराउनु र स्थानीय जात जातीहरुको मान्यता,आस्था, प्रथा–परम्परा, धर्म, विशिष्ठता लगायतका मौलिक र सांस्कृतिक पक्षहरुको संवेदनशीलता तथा गंभिरतालाई प्रष्ट रुपमा मनन गरी सम्मान गर्दै सोही अनुकूलको सुव्यवहार प्रदर्शन गर्नु तथा गराउनु लगायतका विषयहरु पर्दछन् ।
पर्यापर्यटनका निम्ति सर्वप्रथम कृतिम तथा मानवनिर्मित काल्पनिक संरचना तथा पूवार्धारबाट सम्भव रहेसम्म बान्छीत दुरीमा रहेर बनावटी भन्दा फरक मूलतः मौलिक पर्यावरण सहितको खास प्राकृतिक क्षेत्र आवश्यक पर्दछ । हामीकहाँ प्रशस्त मात्रामा प्राकृतिक, समाजिक–सांस्कृतिक, प्राचीन–पुरातापत्विक, ऐतिहासिक तथा मौलिक धरोहरहरु प्रशस्त मात्रामा छन् ।
नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटन
नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटनको अवस्था, आधार र सम्भावनाको लेखाजोखा गर्ने हो भने वन मन्त्रालयले सञ्चालन गरेको वन स्रोत सर्वेक्षण सन् २०१४ अनुसार कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर मध्ये नेपालमा ४४.७४ प्रतिशत वन जंगल छ भने २३.६ प्रतिशत भूभाग संरक्षित वन क्षेत्रको रुपमा राज्यसँग सुरक्षित छ, ६४२ जाति वनस्पतिका १७,०२० प्रजाति तथा ३५०,६९९ वैज्ञानिक समूहका १,०६४,०३५ वैज्ञानिक नामाकरण सहितका वनस्पतिहरु, ६०० ओटा रैथाने वनस्पतिहरु, विश्वका फूल फुल्ने वनस्पतिहरु मध्ये २ प्रतिशत वा ६९७३ प्रजातिहरु यहाँ पाइन्छ । २४६ प्रजातिका फूल फूल्ने वनस्पतिहरु नेपालमा मात्र पाइन्छन् ।
यहाँ १२ राष्ट्रिय निकुञ्जहरु, ६ संरक्षित क्षेत्रहरु, एक शिकार आरक्ष तथा एक वन्यजन्तु आरक्ष छन् । यहाँ सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका ८,००० मिटरभन्दा अग्ला १४ मध्ये ८ हिमालहरुसहित ६००० मिटरभन्दा अग्ला २५० बढि हिमालहरु छन् । ११ किलोमिटर भन्दा लामा १००० नदीहरु र १६० किलोमिटर भन्दा लामा १०० बढि नदी तथा अनेकौ खोलानालाहरु हामी कहाँ अवस्थित छन् । कोशीटप्पु क्षेत्र, बीसहजारी ताल क्षेत्र, जगदिशपुर ताल क्षेत्र, गोक्यो क्षेत्र, गोसाईकुण्ड क्षेत्र, राराताल क्षेत्र, शे–फक्सुण्डो ताल क्षेत्र, माईपोखरी क्षेत्र, घोडाघोडी ताल क्षेत्र तथा पोखराका विभिन्न स्थानहरु गरी १० क्षेत्रहरु रामसार सूचीमा सूचीकृत सिमसारहरु छन् ।
नेपाल जलस्रोत र जमिनको अनुपात तथ्याङ्कमा विश्वको दोस्रो धनी मुलुक पनि हो । एक अनुसन्धानका अनुसार नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको, हाल नेपालमा कुल जलविद्युत जडान क्षमता १,०२० मेगावाट, विद्युत ग्रिडमा जनसंख्याको ७० प्रतिशत पहुँच, ६२३ स्थानीय तहहरुमा विद्युतीय पूवार्धार पुगेको तथा वैकल्पिक उर्जाबाट ५५ मेगावाट उर्जा (कुल उत्पादित स्वच्छ उर्जामा वैकल्पिक उर्जाको योगदान ३.२ प्रतिशत) उत्पादन भई ३६ लाख घरधुरी तथा १८ प्रतिशत जनतामा विद्युतको वैकल्पिक उर्जाको समेत पहुँच पुगेको साथै प्रशस्त मात्रामा जलविद्युत उत्पादन र वैकल्पिक उर्जाका आयोजनाहरु कार्यन्वयनका अवस्थामा रहनुले समेत नेपालमा पर्यावरणीय सुरक्षा र दिगो उर्जाका साथ पर्यापर्यटनका निम्ति भरपर्दो आधार प्रदान गरेको छ ।
विश्वमा जम्मा ९ प्रजातिका बाघ रहेकोमा ३ प्रजातिहरु लोप भई हाल ६ प्रजाति मात्र जीवित रहेका छन् । नेपालमा हाल रोयल बङगाल प्रजातिका २३५ ओटा बाघहरु छन् र यो संख्याका आधारमा बाघ पाइने १३ मुलुक मध्ये शीर्ष पाँचभित्र र तीव्र बाघको संख्या वृद्धि गर्ने मुलुकहरुमा प्रथमतर्फ पर्दछ ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ ओटा गैंडा पाइन्छ, विश्वमा पाइने ५ प्रजाति गैंडा मध्ये १ प्रजाति (एक सिंगे) हामी कहाँ पाइन्छ । हामी यो प्रजातिमा संख्याका आधारमा दोस्रो स्थानमा समेत छौं । यसैगरी विश्वमा पाइने दुई प्रजातिको हात्ती मध्ये एक प्रजातिको हात्ती (एसियन इलेफेन्ट) करीब २०० को संख्यामा नेपालमा पाइन्छ भने लोपोन्मुख हिँउ चितुवा करीब ३०० को संख्यामा तथा अति दुर्लभ रातो पाण्डा पनि केही संख्यामा लगायत हामी कहाँ कैयौं वन्यजन्तुहरु रहेका छन् ।
विश्वमा रहेका करीब ११,००० चराका प्रजातिहरु मध्ये ८८६ प्रजातिहरु नेपालमा पाइन्छन् । जसमध्ये विश्वमा दुलर्व मानिएका चराहरु मध्ये ४४ प्रजातिका चराहरु पनि यहाँ पाइन्छन्। नेपालमा २१२ प्रजातिका स्तनधारी प्राणीहरु, २३२ प्रजातिका माछाहरु, १७५ प्रजातिका माकुराहरु, १७१ प्रजातिका उभयचरहरु, १२३ प्रजातिका शरीसृपहरु, विश्वमा पाइने १५ प्रजातिका पुतलीहरुमध्ये ११ प्रजातिहरु तथा १४८२६ प्रजातिका ससाना कीरा तथा पट्याङग्राहरु पाइन्छन् । विभिन्न खोज अनुसन्धनानहरुबाट नेपालमा ११८ ओटा पारिस्थीतिक प्रणालीहरु अस्तित्वमा रहेका र यी मध्ये ८६ पारिस्थीतिक प्रणालीहरु संरक्षित क्षेत्रमा रहेका तथ्य समेत विद्यमान छ ।
सामाजिक–सांस्कृतिक परिदृश्य सिंहावलोकन गर्दा नेपालमा वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा १२५ जाती र १२३ भाषाभाषीहरु रहेकामध्ये ५९ जनजातिहरु छन्, यी जनजाति र जातजातिहरुको आ–आफ्नै मौलिक विशेषता तथा विशिष्टताहरु समेत छन्। यस्तै १० विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु, १० विविध धर्ममा आस्था राख्ने नागरिकहरु तथा यिनीहरुका बीचमा पर्याप्त धार्मिक सहिष्णुता र विविधता बिचको एकतासँगै विविध मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जितलगायतका अनेकौ प्राचीन, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरु समेत प्रसस्त मात्रामा पाइन्छन्।
नेपालमा औपचारिकता प्राप्त गरी वैधानिक रुपमा सञ्चालित होमस्टे (घरबास) को संख्या ६०० को हाराहारीमा छन् र यिनीहरुको संख्या दिन प्रतिदिन बढ्दो समेत छ । होमस्टेबाट राज्यको दुरदराजको पर्यावरणको संरक्षण, स्थानीय उत्पादनको प्रवर्धन, रोजगारीमा वृद्धि तथा स्थानीय पुजीँको परिचालन र सदुपयोग जस्ता बहुआयामिक दिगो कृयाकलापहरुबाट प्राकृतिक साधन स्रोत तथा स्थानीय सामाजिक–सांस्कृतिक धरोहर दुवैको संरक्षण, संवर्धन र सदुपयोग गरी पर्यापर्यटनको समुचित विकास र सदुपयोग गर्न सकिने विद्यमान अवस्था देखिन्छ ।
यस हिसाबमा नेपालमा प्राकृतिक, सामाजिक–सांस्कृतिक, धार्मिक, ऐतिहासिक लगायतका मौलिक प्राकृतिक विविधता र विशिष्टता विद्यमान रहनु तथा यही बीचमा रहेर पर्यापर्यटन सँग सम्बन्धित विविध कृयाकलापहरु कति अवस्थामा सञ्चालन गरिनु र बाँकी कतिपय मा पर्यटनको प्रचुर सम्भावना रहनु आफैंमा पर्यापर्यटनका निम्ति बलियो आधार समेत देखिन्छ ।
नेपालमा पर्यापर्यटनका निम्ति कैयौं गन्तव्यहरु नमूनाकै रुपमा परिचित छन् भने अरु अनगिन्ती स्थानहरु पर्यापर्यटनका निम्ति प्रचुर सम्भावना बोकी जीवनकै मनमोहक दृश्य तथा अनुभवहरु प्रदान गर्न अवसर खोज्दै पर्यापर्यटनको गतिविधिका निम्ति प्रतिक्षारत छन्। नेसनल जियोग्राफिक म्याक्जिनले अन्नपूर्ण संरक्षण क्षेत्रलाई विश्वका १०० सुन्दर गन्तव्यमा समावेश गरेको तथा लोनली प्लानेटले समेत यसलाई विश्वका मनमोहक गन्तव्यको रुपमा अफ्नो सूचीमा समावेस गरेको छ । सन् २०१८ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ८० हजार भन्दा बढि विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । यो संख्या वर्षेनी बढ्दो क्रममा छ भने यहाँ भ्रमण गर्ने स्वदेशी पर्यटकको संख्या समेत उल्लेख्य रहेको पाइन्छ ।
प्रतिक्रिया