Thursday, July 30, 2026

Font Size:

logo
2 Years ago October 09, 2024 Visted:501

पर्यटन वर्ष मनाउँदै कोशी प्रदेश सकार


img
img
img

       पर्यटन वर्ष मनाउँदै कोशी प्रदेश सकार, २०८२का लागि तयार पारियो ८२ गन्तव्य

इटहरी, कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउने भएको छ । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरिएको हो । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गरिएको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दै ८२ पर्यटकीय गन्तव्य घोषणा गरे । उनले ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको बताए ।

उनका अनुसार कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । कोशी प्रदेश अन्य प्रदेशको तुलनामा साहसिक पर्यटनमा अब्बल छ । 

यसका अलवा यो प्रदेश कृषि, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले कोशी प्रदेश सबैभन्दा अगाडि छ । यहाँको शिक्षा र साक्षरताको स्तर पनि उच्च छ ।‘प्याराग्लाइडिङ, तमोर तथा कोशी र्याफ्टिङ जस्ता साहसिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधार लाई बलियो बनाएको छ । 
उच्च जनघनत्व भएका झापा, मोरङ र सुनसरीमा पर्यटनको अपार सम्भावना मात्र होइन कृषिको आधुनिकीकरण गर्ने हो भने झापा, मोरङ र सुनसरीले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ । प्राकृतिक स्रोत साधनका हिसाबले सोलुखुम्बुको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा पर्दछ । धार्मिक हिसाबले कोशी प्रदेशमा पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका बहुधर्मावलम्बी तीर्थस्थल छन् ।

कोशी प्रदेशमा मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको छ । यस प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका हुन् । उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले चालू छन् । 

यस प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाँडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा नियमित  हवाइ उडान भइरहेको छ । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने तयारी भइरहेको छ ।यसका साथै पूर्व–पश्चिम राजमार्ग, वीपी कोइराला राजमार्ग र निर्माणाधीन मध्य पहाडी लोक मार्ग राजधानी पुग्नका लागि सडक हुन् । 
चतारामा र्याफ्टिङको रौनक, कोशीटप्पुको जंगल सफारी,पूर्वी नेपालको पहाडी प्रवेशमार्गका रुपमा परिचित सुन्दर नगरी धरान यस प्रदेशको साहसिक पर्यटनको समेत प्रवेशद्वार बन्न थालेको छ । साहसिक पर्यटनमा र्याफ्टिङ, प्याराग्लइडिङ मात्रै हैन माउन्टेन बाइकिङको समेत कोशी प्रदेशमै सबैभन्दा पहिलो व्यवसायिक सञ्चालन धरानबाटै भएको छ । हाल बन्दको अवस्थामा रहेको कोशीटप्पुको जंगल सफारी पनि धरानबाटै सञ्चालन भएको हो ।

पर्यटन वर्षका लागि सरकारले १० करोड रकम बजेट विनियोजन गरेको छ । पाथीभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुंग पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई उजागर गरेको मुख्यमन्त्री कार्कीले बताए ।

‘कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नुपरेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन । हामिले अब यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अगाडि बढ्ने प्रयत्न गरीरहेको छ । यसको प्रस्थान बिन्दुका रुपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लिन सकिन्छ ।’

सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता पर्यटकीय स्थल यही प्रदेशमा हुनुले पनि पर्यटक आकर्षित गर्न सकिने मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्ने र पोकली झरना, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे मिल्केजलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्रको गन्तव्य रहेको समारोहमा जानकारी गराइयो ।

चियाको राजधानी भनेर चिनिने इलामको सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल छिर्नेहरुलाई स्वागत गरिरहेको दृष्य हामीले देखिरहेका छौँ,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘विश्वमै दुर्लभ रेडपान्डा, अर्ना लगायत जैविक विविधतायुक्त पर्यटकका लागि आर्कषणको केन्द्र बन्न सक्छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टि एम जे क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । हामीले यही समयलाई मध्यनजर गरेर पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी गरेको जानकारी गराउन चाहन्छु ।’

पर्यटनको विकास र प्रवर्धनका लागी कोशी प्रदेशले हरेक प्रकारका पर्यटकलाई समुचित व्यवस्थापन गर्न सक्नुपर्छ । धार्मिक पर्यटकहरूलाई केन्द्रित गरेर सोही बमोजिमको पूर्वाधार विकास, विलासी प्रकृतिका पर्यटकहरूका लागि पर्याप्त सुविधा–सम्पन्न होटलहरू निर्माण गर्ने र पर्वतारोहण, ट्रेकिङ, साहसिक खेलका लागि आउने पर्यटकहरूको लागि पनि राम्रो व्यवस्थापन गर्नुपर्ने उनले सुनाए ।

हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत हामीले गुणस्तरीय पर्यटकहरूलाई भित्र्याउन सकिने सरकारको विश्वास छ । कोशी प्रदेशको समृद्धि र विकासका लागि पर्यटन नै महत्वपूर्ण आधार रहेको बताइएको छ ।

पर्यटन क्षेत्रको विकास र पर्यटन वर्षलाई उत्सवका रूपमा मनाउनका लागि निजी क्षेत्र र पर्यटन व्यवसायीहरूलाई सँगसँगै लिएर जाने बताइयो । खासगरी सीमा जोडिएको भारतको सिक्किम, बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई मात्रै भित्र्याउन सकेमा उपलब्धि हुने बताइएको छ ।

‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ प्रदेशको पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्षको रूपमा विश्वास व्यक्त गरिएको छ ।

Share:

प्रतिक्रिया