नेपालको पूर्वी क्षेत्रको सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलहरूमध्ये एक मानिने वराहक्षेत्र सप्तकोशी नदीको किनारमा अवस्थित छ । सुनसरी जिल्लाको धरानबाट करिब १३ किलोमिटर पश्चिममा पर्ने महत्वपूर्ण धार्मिक एवं पुरातात्विक सम्पदाले युक्त वराहक्षेत्रको अपार महिमा छ ।
धर्मशास्त्रमा हिन्दूहरूका पवित्र चार क्षेत्र उल्लेख गरिएका छन् । हरिहर क्षेत्र, कुरुक्षेत्र, मुक्तिक्षेत्र र वराहक्षेत्र । तीमध्ये मुक्तिक्षेत्र र वराहक्षेत्र नेपालमा पर्छन् । वराहक्षेत्र भगवान विष्णुको तेस्रो अवतार वराहअवतारको कथासित सम्बद्ध भएकाले हिन्दूहरुले यस क्षेत्रलाई पवित्रस्थल मान्दछन् ।
पूर्वी पहाडबाट प्रवाहित हुने सप्तकोशी बराहक्षेत्रमा आएर पूर्ण हुन्छ । जहाँ कोकाह नदीको संगमस्थल पनि छ । पितृश्राद्धका लागि वराहक्षेत्र अत्यन्त पवित्र मानिन्छ । यसको महिमा र महत्व धेरै ठूलो छ । यहाँ स्नान गर्दा सबै पापहरू धोइन्छ र पुनर्जन्मको चक्रबाट मुक्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिरण्य नामको राक्षसले पृथ्वीलाई रसातलमा डुबाई सम्पूर्ण सृष्टिलाई रोकेपछि भगवान विष्णुले वराहको अवतार लिई पृथ्वीको उद्धार गरेको कुरा पुराणहरुमा उल्लेख छ ।
वास्तवमा यहाँको भौगोलिक बनोट हेर्दा सप्तकोशीको प्रवाह यहाँ रोकिने हो भने नेपाल भारत नै जलमय भएर डुब्ने देखिन्छ । विष्णु भगवान्ले बँदेल रुप धारण गरी नदी खोलेर पृथ्वीको उद्धार गरेको प्रसंगचाहिँ यहाँ ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ ।
वराहक्षेत्र मठ–मन्दिरले भरिएको पवित्र तीर्थभूमि हो । यो धेरै तीर्थयात्रीले पटकपटक भ्रमण गर्ने तीर्थस्थल पनि मानिन्छ । वराहको मूल मूर्ति मन्दिरभित्र रहेको छ । खोपोजस्तोमा पृथ्वी उद्धारको वराहमूर्ति अंकित छ । भगवान् वराहको उक्त मूर्ति पाँच हजार वर्ष पुरानो मानिन्छ । विसं. १८४३ मा चतरामठका महन्त शिव भारती आदिले वहारक्षेत्र मन्दिरको पुनर्निमाण गराएको प्रमाण भेटिन्छ । त्यसैगरी सेनवंशी राजा लोहाङ्गसेनले वराहक्षेत्रमा विष्णुको मूर्ति बनाई स्थापना गरेको पाइन्छ । मन्दिर परिसरमा ७८किलोको शिला पनि रहेको छ । उक्त शिला उचाल्दा गानोगोला निको हुने विश्वास गरिन्छ ।
मन्दिरको उत्तरतिर टाकुरामा वराहरुप विष्णुले आराधना गरिएका वाराहेश शिव, स्वयम्भू ब्रह्मा अवस्थित छन् । उनै भगवान्बाट वर पाएर विष्णुले वराहरुप लिएर पृथ्वीको उद्धार गरेको प्रसंग हिमवत्खण्डमा उल्लेख गरिएको छ । हिमवत्खण्डकै अर्को प्रसंगअनुसार धर्मज्ञान नभएका भिल्लहरु पनि वराह भगवान्को दर्शन गर्नाले पापबाट मुक्त भएका थिए भन्ने सुन्न पाइन्छ ।
ब्रह्मापुरबाट वराह भगवान्को दर्शन गर्न वराहक्षेत्रमा आई विष्णु शर्मा नाम गरेका ब्राह्मणले भगवान्को भक्तिस्तुति गर्दा प्रसन्न भई यस स्थानलाई प्रकाश गर भनी आशिरवाद पाएकाले उनै विष्णु शर्मा नाम गरेका ब्रह्मणले यस पुण्यभूमिबाट वराह भगवान्को महिमा प्रचार गरेको मानिन्छ ।
मन्दिर नजिकै छिन्नमस्ता देवी, सूर्यकुण्ड,लट्टेनीथान, देवीस्थान, गुप्तवराहलगायतका दर्जनौं मठ–मन्दिरले वराहक्षेत्र भरिएको छ ।
वराहक्षेत्रमा लाग्ने हरिबोेधनी एकादशी कार्तिके मेला हिन्दूहरूको प्रसिद्ध धार्मिक मेला हो । प्रत्येक वर्ष कार्तिक महिनाको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन लाग्ने यो मेलामा देशका विभिन्न जिल्ला, भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बङ्गाल, सिक्किमलगायतका राज्य र भुटानबाट समेत मेलामा लाखौं धार्मिक पर्यटक, भक्तजन वराह भगवानको दर्शन गर्न यहाँ आउने गर्दछन् ।
चतरास्थित प्रसिद्ध सप्तकोशी नदी र वराहक्षेत्रस्थित कोकाहा नदीको सङ्गमस्थलमा माता पार्वतीको विवाह भएको कुरा कालिदासद्धारा रचित कुमारसम्भवमा उल्लेख गरिएको छ । यहाँ मकर सङ्क्रान्तिका अवसरमा मकर नुहाउनेको भिड लाग्छ । नेपालमा सबैभन्दा धेरै मानिस भेला हुने कुम्भ महोत्सव यहीँ आयोजना हुन्छ ।
अहिले तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक धरान–चतरा–कञ्चनपुर, पकली–नडाहा–फत्तेपुर तथा धरान–उदयपुर मदन भण्डारी मध्यपहाडी लोकमार्गको पक्की सडक निर्माण भएकाले बाह्रै महिना पवित्र धार्मिकस्थल वराहक्षेत्र पुग्नका लागि यातायात सुगम र सहज बनेको छ ।
प्रतिक्रिया