Tuesday, July 28, 2026

Font Size:

logo
2 Years ago October 05, 2024 Visted:321

यी हुन् दशैंमा घुम्न लायक कोशी प्रदेशका १४ गन्तव्य


img

मानसरोवर नेपाल इटहरी– अन्य पर्वहरुको भन्दा दशंैको विदाको अवधि लामो हुने भएकाले धेरैले दशैमा घुमघाम गर्छन् । घुमघाम गर्नलाई कोशी प्रदेशका १४ जिल्लामा प्रसस्तै विकल्पहरु छन् । यी हुन् कोशी प्रदेशका १४ जिल्लाका दशैमा घुम्न लायक १४  गन्तव्यहरु–

१. ताप्लेजुङः तिम्बुङ पोखरी

४४८० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी  करिब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइको  छ । यो पोखरी धार्मिक र प्राकृतिक दुवैमा महत्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो ।

यो पोखरीबाट सिक्किम नजिकै छ । असारदेखि श्रावणसम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी सहासिक यात्रको लागि कात्र्तिकमा पनि हिँड्न सकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ । आकर्षक पोखरी, पोखरी माथि नाचिरहने बादल, यात्रामा भेटिने लोभलाग्दा जंगली फूलहरु र मनोरम दृष्य तिम्बुङ पोखरीका मौलिकता हुन् ।

२. पाँचथरः साधुटार

कोशी प्रदेशको फेवातालको रुपमा व्याख्या गरिने पाँचथरको साधुटार पाँचथर सदरमुकाम फिदिमबाट १६ किलोमिटर टाढा पर्छ ।

यो कृत्रिम तालमा कंचनजंगा र कुम्भकर्ण हिमालको प्रस्ट प्रतिबिम्ब देख्ने दुर्लभ अवसर मिल्छ ।  मेचि राजमार्ग सँगै रहेको पौवा भन्ज्याङ क्षेत्रमा रहेको यो ताल स्वदेशी र विदेशी दुवैको रोजाइमा पर्दै गएको छ । राम्रो प्रचार र स्तरिय होटलहरु बनाएको अवस्थामा सिमावर्ती सिक्किम र पश्चिम बंगाल जस्ता भारतीय राज्यका पर्यटकहरु तान्न सकिने पर्यटनकर्मीहरुको तर्क छ ।

३. इलामः माईपोखरी

इलाम बजारबाट १५  किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित माइपोखरी इलामको अर्को महत्वपूर्ण पर्यटन   स्पट हो । समुन्द्र सतहबाट २१३० मिटरको उचाइमा रहेको यो पोखरी वनस्पति, चराचुरुङ्गी, जलचर र थलचर मात्रै हैन आकर्षक प्राकृतिक बनावटको कारणले पनि चर्चित छ ।

 करिब १८८ हेक्टर क्षेत्रफलमा फैलिएको यो पोखरीमा नेपाल तथा भारतका पर्यटकहरू घुम्न, पिनकिन खाँन र अध्ययन अवलोकन गर्न आँउने  स्थानीयहरू बताँउछन । नौ कुना रहेको यो पोखरी धार्मिक आस्थासँग पनि जोडिएको छ । २ हेक्टर सिमसार रहेको यो पोखरीका नौ कुनाहरूमा नवदुर्गाको बास रहेको  स्थानीयहरूको परापूर्वक कालदेखिको विश्वास रहिआएको छ ।

४. झापाः जामुनखाडी सिमसार

पाको कन्काइ नगरपालीकाको वडा नम्बर १ र २ मा फैलिएको जामुनखाडी राम्रो गन्तव्य हो । झापाको सुरुङ्गा बजारबाट २ किलोमिटर र महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको  जामुनखाडीमा झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लाहरुका घुमन्तेहरु आउँछन् ।

२६.५४ हेक्टरमा फैलिएको सिमसारमा शान्त, एकान्त र मनोरम वातावरण मन पराउनेहरु आँउछन् । दुर्लभ वन्यजन्तुको आरक्षण, झोलुङे पुल, हरिण पार्क, बालउद्यान, बोटिङ गरिने आकर्षक पोखरीहरु रहेको जामुनखाडीमा २० जनाले रोजगारसमेत पाएका छन् ।

२०६५ साल माघ १६ गते बाट सञ्चालनमा आएको यो सिमसार जामुनावारि सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको हो । यो सिमसारकै कारण झापालाई पर्यटकीय र घुमघामको गन्तव्य बनाउनेहरु बढेका छन् ।

५. मोरङः बेतना सिमसार

उत्तरी मोरङको बेतना सिमसार क्षेत्र पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ ।  १७५ हेक्टर क्षेत्रफलमा फैलिएर पुर्व–पश्चिम राजमार्गमै टाँसिएर बसेको बेतना  सिमसारमा पिकनिक खान,घोडा चढ्न, घुम्न, बोटिङ गर्न, जंगल सफारी गर्न आगन्तुकहरु आँउछन ।

सिमसारमा रहेको ठुलो आकारको कमिलोसँग सेल्फी लिन धेरै आउछन ।  घुम्ने र रम्ने बाहेक विभिन्न चलचित्र, म्युजिक भिडियो, कभर संग आदिको सुटिङ गर्न पनि प्रसस्तै मान्छेहरु आँउने बताँउछन् ।

मोरङको बेलबारी नगरपालीका वडा नम्बर ४ मा पर्ने बेतना सिमसार नगरपालीका क्षेत्रकै मुख्य पर्यटकीय विन्दू भएको बेलबारी नगरपालिकाका स्थानीय कालिप्रसाद पराजुली बताँउछन् ।

६. सुनसरीः रास ताल

इटहरी र आसपासका घुमन्तेहरुको लागि सुनसरीको बक्लौरीमा रहेको रास ताल राम्रो गन्तव्य हो । कमै मात्र चर्चामा आए पनि धेरै सुन्दर यो क्षेत्रमा पिक्निक खानेको भिड राम्रै हुन्छ ।

इमानसिङ्ग चेमजोङ्ग स्मति प्रतिष्ठानले संरक्षण गर्दै आएको यो क्षेत्रलाई राष्ट्रिय सम्मानित ताल भनिन्छ । र, त्यहि ‘राष्ट्रिय सम्मानित’ तालको छोटकरी रुपलाई नै रास ताल भनिएको स्थानीयहरु बताँउछन ।

करिव ४४ बिगाहा जमिनमा फैलिएको रा.स. ताल क्षेत्रमा पानीको भाग मात्रै १५ बिगाहा रहेको छ । सुनसरी सामुदायिक वन क्षेत्रमा पर्ने रा.स. ताल बक्लौरीको ६४ बिगाहा भन्ने क्षेत्रमा पर्छ । धरान हुँदै आउनेलाई तरहराबाट र इटहरी हुँदै आउनेलाई कान्छिचौकबाट भित्र आधा घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ रा.स. ताल ।

७. धनकुटाः ध्वजे डाँडा

ध्वजेडाँडा साँगुरीगढी गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस डाँडाको उचाइ ७००० फिट छ जहाँबाट सूर्योदय अवलोकन गर्न सकिन्छ ।

डाँडाबजारको दृश्य साथै तमोर नदिको नागवेली आकार र एसियाको ठूलो वरको रुख पनि यसै स्थानबाट देख्न सकिन्छ । यहाँबाट तराईको फाँटहरुको दृश्य पनि अवलोकन गर्न सकिन्छ । इलामको अन्तुडाँडा पछि राम्रो किसिमले सूर्योदय अवलोकन गर्न यो ठाउँ ज्यादै उपयुक्त मानिन्छ ।

यहाँ बाट कुम्भकर्ण , मकालु, कञ्चनजङ्गा र सगरमाथा हिमाल साथै कोशीको १४ वटै जिल्लाहरु देख्न सकिन्छ । यहाँ पुग्न डाँडाबजारको बजार क्षेत्रबाट सिढी उक्लन्दै एक घण्टामा चुचुरोमा पुग्न सकिन्छ ।

यहाँ आउने पर्यटकहरुको खान बस्नु सुविधाको लागि केही होटल तथा होमस्टे पनि उपलब्ध छ । यहाँ पुग्न गाडीको सुविधाको साथै भेडेटारबाट ३ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।

८. तेह्रथुमः ह्यात्लुङ झरना

तेह्रथुमको फेदाप गाउँपालिकास्थित सम्धु र इसिबु क्षेत्रको सिमामा रहेको यो झरना एसियाकै अग्लो झरनाको रुपमा चिनिन्छ । यही झरना नै तेह्रथुमको देशभर लोकप्रिय भएको गन्तव्य हो ।

३६५ मिटर अग्लो यो झरना पुग्ने सामान्य फुट ट्रयाक बाहेक अन्य पूर्वाधारहरु बन्न सकेका छैनन । तर, पदयात्राको लागी यो झरना सुन्दर गन्तव्य हो । झरनामा पिक्निक र क्यान्योनिङ जस्ता सुविधाहर अझै बनेका छैनन् । समुन्द्र सतहबाट १५ सय मिटरको उचाइको यो झरना मध्यपहाडी राजमार्गबाट ८ किलोमिटर र पाँचथर जिल्ला सिमाना नजिकै पर्छ ।

९. संखुवासभाः सभापोखरी

प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ ।

प्रचीन कालमा ८८ हजार ऋषीमुनिहरु राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास छ । समुद्र सतहबाट ४२४० मिटरको उचाइमा रहेको यो पोखरी लुम्बासुम्बा हिमालको फेदमा रहेको छ ।  

संखुवासभाको गुफा पोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्याधिक प्रचार भएर पनि पोखरी नजिकसम्म सहज सडक बाटो नभएकोले धेरै तीर्थयात्रुहरु तथा टे«किङ पारखीहरु यहाँ पुग्न पाँउदैनन् ।
१०. भोजपुरः ट्याम्के डाँडा

भोजपुरको टयाम्के डाँडाले भोजपुर र खोटाङ जिल्लाको सिमाना जोड्छ । खुल्ला आकास भएको दिन यहाँबाट दार्जिलिङ र काठमाडौँ पनि देखिने बताइन्छ ।

समुन्द्र सहतबाट ३६२० मिटर उचाइमा रहेको यो क्षेत्र पुग्न भोजपुर सदरमुकामबाट ३ घण्टाको दुई पांग्रे यात्रामा पुग्न सकिन्छ । हालसालै विकास भएको मुन्धुम टे«किङ रुटको एक अभिन्न भागको रुपमा यो डाँडा रहेको छ ।

११. सोलुखुम्बुः पत्ताले डाँडा

सगरमाथा राष्ट्रिय निकुन्ज, गोक्यो ताल सगरमाथा र अन्य हिमालहरु मात्रै हैनन, सोलुखुम्बुमा अन्य सुन्दर गन्तव्य पनि छन् । त्यसमा एक विकल्प हो ः पत्ताले डाँडा ।

सडक  र हवाइ दुवै यात्रामा सहजै पुग्न सकिने सोलुखुम्बुको गन्तव्य हो पत्ताले डाँडा । मकालु, कंचनजंगा, सगरमाथा, नुम्बुर, कार्यालुङ, पुमोरि, ल्होत्से, थामसेर्पु जस्ता उच्च हिमाली चुचुराहरु हेर्न सुन्दर अनि सुगम हिल स्टेसन हो पत्ताले डाँडा ।

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको यो डाँडा समुन्द्र सतहबाट ३ हजार हाराहारीको उचाइमा छ । काठमाण्डौबाट जाँदा हर्कपुर, ओखलढुंगा हुँदै सडकबाट जान सकिने यो डाँडा फाप्लु विमानस्थलबाट ओर्लेर एक घन्टाको सडक यात्रामा आउन सकिन्छ ।

१२. ओखलढुंगाः पोकली झरना

ओखलढुंगाको लिखु गाउँपालिकामा रहेको पोकली  झरना १३० मिटर अग्लो रहेको छ । पैदल यात्रा गर्दा ओखलढुंगा बजारबाट यो झरना पुग्न १२ घन्टा लाग्छ ।

सप्तकोशीको सबैभन्दा सानो सहायक नदी लिखुको सिरमा रहेको पोकीि झरना मन्थली र सिर्सिरे हुँदै विपी राजमार्ग भएर सहजै पुग्न सकिन्छ । राजधानी काठमाण्डौको लागि पनि नजिक र मधेश प्रदेशका तराई क्षेत्रको सप्तरी, सिराहा र सर्लाहीको लागि पनि गन्तव्य बन्न सक्छ । तर, यो झरना पुग्ने सहज बाटो र प्रचार राम्रो नहुनाले यसले दैनिक सयौँ पर्यटकहरु गुमाइरहेको छ ।

१३. खोटाङः रुवालुङ झरना

हलेसी महादेव भएको खोटाङको रुवालुङ झरना नयाँ गन्तव्य बन्दैछ ।  यो झरना मध्यपहाडी लोकमार्ग नजिकै भएकाले आगन्तुकहरुको भिड बढ्न थालेको छ ।

लोकमार्गमा रहेको दुधकुन्ड भन्दा यो झरना एक किलोमिटर मात्रै पर रहेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका–६ को नेर्पा भन्ने स्थानामा छ यो झरना ।

यो झरना बाहेक खोटाङको धिप्लुङ झरना पनि अर्को राम्रो प्राकृतिक गन्तव्य हो । दिप्रुङ गाउँपालिकामा रहेको यो झरना घुमघामका लागि आकर्षक गन्तव्य हो ।

१४. उदयपुरः रौतामाई पोखरी

उदयपुर जस्तो कोशी प्रदेशको सुगम जिल्लामा रहेर पनि रौतामाई पोखरीमा पर्यटकीय प्रचार र पूर्वाधार अभावमा कम मात्रै पर्यटकहरु पुग्छन् ।
यो तालको विलक्षण कुरा भनेको यहाँ झरेका पातहरु चराले चुच्चोले च्यापेर आफै फाल्छन् । समुद्र सतहबाट १७९९ मिटरको उचाइमा रहेको यो पोखरी गाईघाट बजारबाट ४० किलोमिटरको सडक दुरी पार गर्नुपर्छ ।

गाईघाटबाट उत्तरपश्चिम  भागमा रहेको यो पोखरी क्षेत्रमा हालसम्म पर्याप्त होटल तथा होमस्टेहरु छैनन् । त्यसैले यहाँ टेन्टमा बास बस्ने गरी मात्रै रात बिताउन सकिन्छ ।

 

Share:

प्रतिक्रिया