काठमाडौँ । शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा लगातार भारी वर्षा भयो । यसमा पनि कोशी र बागमती प्रदेश आसपासका जिल्लामा धेरै पानी प¥यो । जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा शनिबार २४ घण्टाको अवधिमा २४० मिलिमिटर वर्षाको रेकर्ड भयो । दुई दिनसम्म परेको लगातारको वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश तटीय क्षेत्र डुबानमा परे । दुई दिनको प्राकृतिक विपद्मा परी आइतबार साँझसम्म १४८ जनाको मृत्यु भएको छ, १०१ घाइते र ५५ जना बेपत्ता छन् । देशभरका कम्तिमा ४०० घर आंशिकदेखि पूर्ण क्षति भएका छन् ।
उपत्यकाका जोड्ने नुवाकोटतर्फ बाहेक सबै सडक सञ्जाल बन्द भएका छन् । देशका अधिकांश ठूला राजमार्ग अवरुद्ध छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध छ । कान्ति राजपथअन्तर्गत मकवानपुरको बगुवा र ललितपुरको माल्टा जोड्ने बागमती नदीको पक्की पुल पनि बाढीले बगाएको छ । दोलखा र रामेछापलाई तराईका जिल्लासँग जोड्ने ‘लाइफलाइन’ को रूपमा रहेको सिन्धुली खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्ण रूपमा क्षति भएको छ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमाथिको मोटरेबल पुल पनि बाढीले बगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साना ठुला गरेर कम्तीमा २५ वटा पुल पूरै बनाउनुपर्ने अवस्था छ । ५० वटा हाराहारीमा क्षति पुगेको छ । सडक तथा पुलहरूमा मात्रै २ अर्ब ५० करोड क्षति पुगेको प्राधिकरणको प्रारम्भिक आँकलन गरिएको छ । सरकारले यसअघि देशभर गएको पहिरो व्यवस्थापन तथा सडक मर्मतमा मात्रै वार्षिक सरदर १० करोड बराबर बजेट छुट्याइँदै आएको थियो । बाढीका कारण बर्सेनि औसतमा १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । यो दिनको वर्षाले यसवर्ष जनधनको थप क्षति भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई निजी, सार्वजनिक सम्पत्ति लगायतमा ठुलो क्षति भएको बताउँछन् । उनी भन्छन्, ‘दुई दिनमा मात्रै अरू बेला हुने वार्षिक क्षति बराबर नोक्सान भएको देखिन्छ । ’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (नेपाल) का अनुसार १६ वटा जलविद्युत् आयोजनामा आंशिकदेखि पूर्ण क्षति भएको छ । दर्जन हाराहारी प्रसारण लाइन अवरुद्ध छन् । निजी क्षेत्रका जलविद्युत् आयोजनामा मात्रै करिब २ अर्बभन्दा बढीको क्षति पुगेको इप्पान महासचिव बलराम खतिवडा बताउँछन् । उनी भन्छन्, ‘आयोजनामा मात्रै २ अर्ब हाराहारी क्षति भएको छ । पहुँचमार्ग तथा अन्य क्षेत्रमा भएको जोड्दो यसको दोब्बर क्षति छ ।’दुई दिनको अवधिमा करिब ९ करोड रुपैयाँ खर्चको मुचुल्का उठेको प्राधिकरणले जनाएको छ । प्रवक्ता डा. डिजन भट्टराई भन्छन्, ‘निजी सम्पत्ति, सार्वजनिक स्थान, पुनर्निर्माणमा लाग्ने खर्च सबै जोड्दा करिब १ खर्ब हाराहारी पुग्छ होला ।’ विपद् जोखिम न्यूनीकरणका जानकार भवराज रेग्मी सामान्य प्रकोपमा पनि मुलुकले ठुलो क्षति बेहोरेको बताउँछन् । ‘२४ घण्टामा ३÷४०० मिलिमिटर पानी पर्नु कुनै असामान्य अवस्था होइन,’ उनी भन्छन्, ‘राज्यका निकायले बेलैमा ध्यान दिएको र मौसम बुलेटिनलाई आधार मानेर योजना बनाएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।’ यो क्षतिमा राज्यको तयारी र अग्रसरता नपुगेको तथा जथाभाबी बनेका संरचना मुख्य कारण भएको उनको बुझाइ छ । रेग्मीले भनेजस्तै पछिल्ला केही वर्षदेखि विकासे डोजर चलाएर जथाभाबी भौतिक संरचना निर्माण गर्ने चलन बढेको छ । सहर बजारका खोला सबै अतिक्रमण भएका छन् ।
अर्कोतर्फ वन विनाश, प्राकृतिक स्रोत जस्तै– पानी, ढुंगा, बालुवा आदिको अनियन्त्रित दोहन तथा अव्यवस्थित बसोबास उत्तिकै छ । ललितपुरको नख्खु खोलाले पुर्याएको क्षति यसैको उदाहरण हो । खोला किनारमा कनेक्टिभिटीका पूर्वाधार मात्रै होइन राज्यले नै अनुमति दिएर आवासीयदेखि व्यावसायिक प्रयोजनका घर बनाउने क्रम रोकिएको छैन । त्यसमा झन् ती संरचना कति बलिया छन् त्यसको अनुगमन पनि छैन । संरचना निर्माणको योजनामा राज्य संरचना ‘फेलियर’ भएको जानकारहरूको भनाइ छ । हामीले बनाएका संरचनाकै कारण यत्रो क्षति भएको रेग्मी बताउँछन् । ‘खोला किनारमा कति सतहमाथि पुल बनाउने भन्ने मापदण्ड पनि चाहिएला, खोलाभन्दा ५÷७ मिटरमात्रै माथि बनाएका पुलले ठुलो बाढी थेग्न कसरी सक्छ ?’
उनी भन्छन्, ‘त्यसकारण यो विपत्ति जानीजानी सरकार र स्थानीयले बोलाएका हुन् । यसको कारण हामी नै हो ।’ पछिल्ला वर्षमा विशेष गरी बाढीपहिरोका घटना बढ्नुमा मानवीय कारण मुख्य दोषी देखिएको छ । जानकारहरूका अनुसार समथर स्थानमा बाढी र डुबान देखिनुमा नदी वा पानी बग्ने क्षेत्रहरूको अतिक्रमण मुख्य कारण हो । पहाडमा पहिरो जानुमा चाहिँ जथाभाबी डोजर चलाएर बाटो खन्ने प्रवृत्ति मुख्य कारण बनेको छ ।
सामान्य बाढीमा पनि खोलाको बहाव उच्च हुनु र छेउछाउको जमिन तथा बस्तीमा क्षति पु¥याउनुमा खोलाको बालुवा र ढुङ्गा उत्खनन गर्न बन्देज लगाउनु पनि अर्को कारण हो । चुरे क्षेत्रका जानकार डा. विजय सिंह उत्खनन ठप्प बनाउँदा थुप्रिएको ढुङ्गा तथा बालुवाले पनि आसपासमा क्षति पुगेको बताउँछन् । ‘खोलामा हरेक वर्ष बालुवा थुप्रिँदै जान्छ । त्यसलाई थोरथोरै निकाल्दै जानुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर हाम्रा राज्य सञ्चालकले यो बुझेका छैनन् । यसले गर्दा खोलानालाबाट हुने क्षति हरेक वर्ष बढ्दो छ ।’सडक, सिँचाइ, जलविद्युत्लगायत सानाठूला संरचना निर्माणले भूबनोटलाई कमजोर बनाउने हुँदा पहिरोको सङ्ख्या बढ्दो छ । बर्खाको करिब एक सय दिन (असार–असोजसम्म) बर्सेनि ठुलो जनधनको क्षति हुन्छ । सर्वसाधारणको ज्यान लिने ८० प्रतिशत पहिरो वर्षायाममै जान्छ ।
रेग्मी बर्खाको समयमा सरकारी निकाय झन् चनाखो हुनुपर्ने बताउँछन् । ‘विपद् जुनसुकै बेला आउनसक्छ तर बर्खाको समयमा जोखिम बढी हुने भएकाले सरकारी निकाय बढी सचेत हुनुपर्छ,’ उनी भन्छन्, ‘तीन तहका सरकार चनाखो भएर बसे विपद्बाट हुने जोखिम धेरै कम गर्न सकिन्छ । जसमा हामी चुक्दै आएका छौँ ।’बाढी पहिरोको पूर्व सन्देश पाउँदापाउँदै पनि काठमाडौँ आसपासका बासिन्दाले थातथलो नछोड्दा काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भयो । सायद पहिले यस्तो नभएकाले सामान्य रुपमा सोच्दा परिणाम भयावह बनेको हुन सक्छ ।’ हेपेको खोलाले बगाउँछ, बाह्र वर्षमा खोलो फर्किन्छ भने झैँ यसपालिको वर्षाले राजधानीमा खोला मिचेर संरचना बनाउनेलाई ठूलै सवक सिकाएको छ ।
प्रतिक्रिया