Monday, June 15, 2026

Font Size:

logo
2 Years ago October 11, 2024 Visted:161

दशैँमा खानपिन गर्दा राेगकाे जाेखिमबाट बच्ने यस्ता छन् हेल्थ टिप्स !


 

नेपालीहरुको ठूलो चाड दशैँ नेपालीहरुले दिल खोलेर मनाउने पर्व हाे । दशैँमा नयाँ लुगा लगाउने, आफन्तजन भेटघाट गर्ने र मिठो खाने गरिन्छ । परम्परा र रिती रिवाज बाहेक याे चाडको विशेषता नै यहिँ हो । खशी काटेर हप्तौ दिनसम्म दशैँमा लगातार मासु खाने गरिन्छ ।

खसी बाहेक पनि राँगा, बंगुर, कुखुरा, माछा आफ्नो चलन अनुसार खाने प्रचलन छ । त्यस्तै शाकाहारीहरुले पनिर, तोफु लगायतका अन्य तरकारीहरुका परिकार पकाएर खाने गर्छन् । अन्य समयभन्दा दशैँको समयमा खानपिन बढी चिल्लो र मसलादार हुने गर्छ । जसका कारण स्वास्थ्यमा असर गर्न सक्छ ।

नेपालीहरु विश्वमा आयको तुलनामा बढी मासु खानेमा पर्दछन् । चाडपर्वको बेलामा मासुको खपत पनि निकै बढ्ने गर्छ । यद्यपी चिकित्सकहरु भने बढी मात्रामा मासु खानेलाई स्वास्थ्यमा समस्या हुन सक्ने बताउँछन् ।

दशैँमा खानपिनमा ध्यान दिनुपर्ने कुराहरूमा सजग गराउने विषयमा मेरोलगानीले नेपाल मेडिसिटिमा कार्यरत क्लिनिकल डाइटिसियन रूजा थापासँग कुराकानी गरेको छ। सोहि कुराकानीका आधारमा तयार पारिएको लेख ः

सामान्यतया, दशैँमा धेरै रातो मासु खाइन्छ । स्वास्थ्यमा धेरै समस्या नै रातो मासुले हुने गर्दछ । रातो मासुमा हुने बोसोले पेटको समस्या हुने गर्दछ । कब्जियत, पेट दुख्ने तथा अन्य पेट सम्बन्धित समस्या धेरै हुने गर्छ । वर्षमा एक पटक आउने चाडपर्व भनेर यो समयमा धेरै खाइने भएकोले पनि अलि सचेत हुनुपर्छ । तर खानालाई सन्तुलनमा कसरी राख्ने त ?

यसैगरी, मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, मुटुको समस्या, पाइल्स र अन्य पेटको समस्या हुने लगायतका स्वास्थ्य समस्या हुनेले रातो मासु कम खानुपर्छ । सकेसम्म खानु नै हुँदैन । तर यस्तो अवस्थामा हामीले केहि कम गर्न सक्छौँ । अब कसरी कम गर्ने त ?

मासुसँगै धेरै तरकारी पनि खानुपर्ने

रातो मासु भनेको पुरा प्रोटिन जसमा फाइबर नै हुँदैन तर फ्याट हुन्छ । त्यसैले स्वस्थ खानको लागि हामीले फाइबरयुक्त खाना खानुपर्छ । मासु खाँदा अलि धेरै तरकारी खानुपर्यो । त्यसो गर्दा हाम्रो पेट स्वस्थ रहन्छ । यस्तै, तरकारी धेरै खाँदा अन्य रोग बढ्न नदिन र मुटुलाई पनि स्वस्थ राख्न सहयोग गर्छ ।

सक्रिय रहुनु आवश्यक

खानासँगै दशैँको समयमा निष्क्रिय भइन्छ । पुरुषको तुलनामा महिलाहरु भने भान्सामा काम गर्नुपर्ने भएकाले अलि बढी सक्रिय हुन्छन् । त्यसैले, पुरुषहरुलाई बढी मात्रामा हृदयघात, स्ट्रोकको खतरा हुन्छ । दशैँको समयमा कार्यालयहरु विदा हुने भएकाले पुरुषहरुले निष्क्रिय हुने हुँदा अलि समस्या हुन सक्छ । त्यसैले पुरुषहरु अलि सक्रिय हुनु आवश्यक छ । खाने र बस्ने मात्र नभएर भान्साका काममा पनि सहयोग गर्ने, बिहान बेलुकी हिँडडुल गर्नुपर्छ । जसकारण खाएका खानेकुरा शक्तिमा परिणत होस् , फ्याटका रुपमा सञ्चित भएर नबनोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

धेरै पानी पिउने

अर्को फाइबरसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । दशैँमा हामी खासगरी, कोक, फेन्टा जस्ता पेय पदार्थमा बढी जोड दिन्छौँ । कोल्ड ड्रिंक्समा धेरै सुगर हुन्छ जसले गर्दा मुटुको रोग, सुगर, प्रेसर बढ्न सक्छ । त्यसकारण पिउने पानी धेरै पिउनुपर्छ । पानी धेरै पिउँदा पेटका साथै पुरै स्वास्थ्यका लागि फाइदा हुनेछ । पानी धेरै पिउँदा खाना धेरै खाइँदैन । दिनमा ३ वा ४ लिटर अथवा शरिरको अवस्था हेरेर बढी वा कम पिउनुपर्छ ।

दिर्घ राेगीले सावधानी अपनाउनुपर्ने

यसैगरी, तपाईलाई पहिल्यै नै अन्य रोग जस्तै मुटुको रोग, मधुमेह, पाइल्स, उच्च रक्तचाप अन्य रोग हुनेले खाना एकदम सर्तक भएर खानुहोला । अझै सकृय हुने समयमा मासु खाए पनि निष्किृय हुने समयमा सकेसम्म मासु नखाएकै राम्रो। बिहान दिउँसो खाए पनि सिमित मात्रामा खानुहोला। राती भने भेज प्रोटिन जस्तै पनिर, तोफु, राज्मा, गेडागुडी खानु भएको राम्रो हुन्छ ।

हिंडडुलमा ध्यान दिने

अब स्वस्थ मानिसका लागि भने दशैँमा केहि बढी खाना छुट हुन्छ । यस समयमा अलि बढी खाइन्छ नै तर सकृय हुन भने छोड्नु हुँदैन । दैनिक ३० मिनेट भए पनि हिंडडुल गर्नुपर्छ । भान्साका सानातिना काम र सरसफाइका काम पनि गरिरहनुपर्छ । मासुलाई विष हो, खानु नै हुँदैन त भन्न मिल्दैन तर सहि समयमा, सहि परिमाणमा सहि खाना खानुपर्छ ।

Share:

प्रतिक्रिया